समाप्त भयो एक महिने गुंला पर्व

स्वयम्भूमा गुञ्जियो सेनाको धिमे

काठमाडौं, ३१ भदौ । गत एक महिनादेखि सञ्चालनमा रहेको उपत्यकाको धार्मिक पर्व गुंला समापन भएको छ । नेवार क्यालेण्डरको गुंला महिनाभरि यो पर्व आयोजना गरिन्छ ।

गुंला पर्वमा एक महिनाभरि नै हरेक बिहान गुंला बाजा बजाई उपत्यकाका विभिन्न बौद्ध धार्मिकस्थलहरू परिक्रमा गर्ने परम्परा रहेको छ । यस क्रममा काठमाडौंमा भने विशेष गरी स्वयम्भू महाचैत्य परिक्रमा गर्ने चलन रहेको छ । स्वयम्भूमा विभिन्न टोलका शाक्य, महर्जन, मानन्धर, तुलाधर आदि समुदायका बाजा खलकहरू गुंला बाजा बजाउँदै प्रदक्षिण गर्न आउँदछन् ।

ललितपुर र भक्तपुरमा पनि गुंला बाजाको साथसाथै राँगाको सिँगबाट बनाइएको न्यकू बाजा (श्रृंगभेरी) बजाउँदै विभिन्न बहाबहिल, थूर आदि प्रदक्षिणा गर्ने चलन रहेको छ ।
गुंला पर्वको अन्तिम दिन भने एक महिने पर्व समापन भएको खुशियालीमा हरेक बाजा समूहहरूले एक भोज आयोजना गरी गुंला पर्वलाई बिदा दिने गर्दछ । गुंलाको अन्तिम दिन गरिने उक्त भोजलाई ‘पारु भ्वय्’ भनिन्छ ।

धेरैजसो समूहको ‘पारु भ्वय्’ हिजै समापन भइसकेको छ भने केही समूहको पारु भ्वय् आज पनि आयोजना गरिँदैछ ।

नेवार क्यालेण्डरमा गुंला महिनापछि ‘यंला’ महिना शुरु हुन्छ । गुंला महिनामा गुंला बाजा बजाई बौद्ध धार्मिकस्थलहरू परिक्रमा गर्ने चलन छ भने यंला महिनामा दाफा बाजा बजाई विभिन्न पीठहरूको दर्शन गर्न जाने चलन रहेको छ । यसलाई ‘यंला सेवा’ भनिन्छ । हिजोबाट ‘यंला सेवा’ शुरु भइसकेको छ ।

यसै क्रममा गुंला पर्वको अन्तिम दिन नेपाली सेनाको शार्दूलजंग गुल्म अन्तर्गत रहेको ‘गुर्जुको पल्टन’ हिजो स्वयम्भू महाचैत्य पुगेको छ । गुर्जुको पल्टनले हिजो धिमे बाजा बजाउँदै स्वयम्भू महाचैत्य प्रदक्षिणा गरेको थियो । पल्टनको बाद्य वादन समूह आफ्नो परम्परागत पोशाकमै स्वयम्भू पुगेको थियो । गुर्जुको पल्टनलाई अहिले हनुमानढोका दरवारमा इन्द्रजात्राका लागि धिमे प्रशिक्षण दिइरहेको छ ।

गुर्जुको पल्टनले स्वयम्भू पुगी महाचैत्यको सामू बाजा बजाई आफ्नो सांस्कृतिक आस्था प्रकट गरेको थियो ।

सो अवसरमा शार्दूलजंग गुल्मका गुल्मपति मेजर पूर्ण प्रजापति लगायत पूर्व गुल्मपति कर्णेल विकास शाक्य पनि सँगै स्वयम्भू पुग्नुभएको थियो ।