उपभोक्ता हितको सवालमा ओलीले किन सम्झिए गोलघरका लालबहादुर ?

 

काठमाडौं, १ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपभोक्तालाई मार्का नपरोस भन्ने कुरामा सबै सजग हुनुपर्ने कुरामा जोड दिनुभएको छ । नेकपा (एमाले) केन्द्रीय उपभोक्ता हित तथा सुशासन विभागले एमाले मुख्यालय, च्यासलमा आयोजना गरेको ‘बढ्दो महङ्गी र उपभोक्ता हितको सवाल’ विषयक विचागोष्ठीमा बोल्दै यस्तो बताउनु भएको हो ।

उहाँले कार्यक्रममा सम्वोधन गर्दै राजनीति नै उपभोक्ता हित र सुशानका लागि गरेको पनि स्मरण गराउनुभयो । ‘कतिपय तपाईंहरुले गरेका काम मलाई र मैले गरेका काम तपाईंहरुलाई थाहा नहुन सक्छ,’ उहाँले भन्नुभयो, ‘उपभोक्ता हित तथा सुशासनकै लागि मैले राजनीति गरेको हो ।’

अध्यक्ष ओलीले हाम्रा सबै प्रयासहरुको निष्कर्ष सुख चाहन्छौँ भन्ने हो भन्दै त्यसका लागि प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । ‘सुखको आधारका रुपमा आर्थिक पक्षलाई लिनुपर्छ । हामीले पनि सुखको आधारको रुपमा आर्थिकलाई लिएका छौँ,’ उहाँले भन्नुभयो, ‘आर्थिकसँगै आउने अरु पक्षहरुलाई जोडेर हामीले समृद्ध नेपाल सुखी नेपाली भनेका छौँ ।’ उहाँले त्यसमा अवसरका पक्ष, शान्ति–सुरक्षाका पक्ष, सुशासनका पक्ष रहेको भन्दै त्यो भनेको हरेकले सम्मानित जीवन सुखपूर्वक बाँच्न पाउनुपर्छ भन्ने नै रहेको स्मरण गराउनुभयो ।

उहाँले समाजको एउटा पक्ष मात्रै सबल बनाउ खोज्यौँ भने त्यो सम्भव नहुने भन्दै केही भद्रगोलका तथ्यहरु प्रस्तुत गर्नुभयो । ‘हामीले अहिले हेर्यो भने अन्तराष्ट्रिय विमानस्थल भद्रगोल छ । तातोपानी कस्तो छ ? खासा कस्तो छ ? विरगञ्ज कस्तो छ ? भैरहवा कस्तो छ ? विमानस्थल जस्तो छ, भैरहवा त्यस्तै छ । विमानस्थल जस्तो छ, खासा त्यस्तै छ । विमानस्थल जस्तो छ तातोपानी त्यस्तै छ । विमानस्थल जस्तो छ विराटनगर त्यस्तै छ । विमानस्थल जस्तो छ, विराटनगर त्यस्तै छ,’ उहाँले भन्नुभयो, ‘जता हेर्यो त्यतै भद्रगोल छ । यो भनेको सरकार उपभोक्ताप्रति जिम्मेवार छैन भन्ने हो ।’

उहाँले राज्यको माथिल्लो तहदेखि नै गलत काम भैरहेको ठोकुवा गर्नुभयो । ‘साढे ९ केजी सुन भन्सारमा पक्राउ पर्यो । अलपत्र–अलपत्र भयो । कहाँ गयो ? कता गयो ? त्यो कुनै अत्तोपत्तो छैन,’ उहाँले भन्नुभयो, ‘सुनकाण्डमा बाउ–छोराको २ सय भन्दा बढी पटक कुराकानी भयो भनियो । त्यो पनि अलपत्र भयो । वर्तमान सरकाले कस्लाई के आरोप लगाउने भन्ने राजनीतिक एजेण्डा नै बनाएको छ भन्ने तथ्य पनि हो यो ।’

जलहरीको विवाद झिकेर सरकार सुन तस्करीमा

‘पशुपतिनाथमा पित्तल चढाइयो भनेर सत्ताधारी गुटका सांसद कराए । मलाई त्यतिबेला नै पुशपतिनाथतिर ध्यान केन्द्रित गराएर यिनीहरुले यता के गर्न खोज्दैछन् भन्ने मलाई लागेको थियो,’ उहाँले भन्नुभयो, ‘। कुरो सत्य रहेछ । ध्यान त्यता केन्द्रित गरेर ठूलो मात्रामा भन्सारबाट सुन ओसारपसार गर्ने उद्योग चलाउन खोजिएको रहेछ । पशुपतिमा सुन तौलिन लगाएर विमानस्थलबाट सुन ओसारपसार गर्न लगाउने उद्योगमा सरकार लागेको रहेछ । चील उता देखाएर चल्ला यतातिरबाट लैजाने तरिकाबाट सरकार चलिरहेको छ ।’

उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्य सरकारको

उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्य प्रमुख रुपमा सरकारको हो भन्दै ओलीले मान्छेले कानुन मिच्न सक्छ भनेर राज्यको अवधारणा ल्याइएको बताउनुभयो । ‘त्यहिकारण कानुन चाहिएको हो,अ प्रहरी चाहिएको हो । त्यसैका लागि नियामक निकाय चाहिएको हो । लोभले गर्दा अमर्यादित काम पनि गर्न सक्छ भनेर राज्य भएको हो,’ उहाँले भन्नुभयो, ‘तर, राज्यले राज्यको भूमिका निर्वाह गर्न सकेको छैन । अहिले हामी सरकारमा छैनौं । हामी सरकारमा नभए पनि सरकारलाई उपभोक्ता हित संरक्षणका लागि प्रयास निरन्तर गर्छौ ।’

लालबहादुरको कथा

ओलीले उपभोक्ताले आफैँ ठगिएको कुरा थाहा पाउँदैन भन्ने तथ्यका लागि एउटा स्मरण बताउनुभयो । ‘हामी जेलमा हुँदा एक जना लालबहादुर थिए । उनी आफैँ पनि कैदी थिए । हामीलाई गोलघरमा राखिएको थियो । एकदिन लालबहादुर ‘दाईले साग किनेर ल्याएका छन् । उनले किनेर ल्याएको साग सित्तैमा लिने’ भन्दै उनी हामीसँग झोँक्किएर । तर, ती भाईले त्यो २५ पैसा मुठो पाउने सागलाई चार मुठो बनाएर एक रुपैयाँ मुठो बेच्ने गरेका रहेछन्,’ ओलीले भन्नुभयो, ‘लालबहादुर आफैँ उपभोक्ता थिए । तर, उनी आफैँ ठगिएको उनी आफैँलाई पत्तो थिएन । उनलाई दाईले साग किनेर ल्याउँछन् र बेच्छन अर्थात किनेर ल्याएपछि बेच्नुपर्छ भन्ने मात्रै थाहा थियो । मैले लालबहादुरलाई बुझाउने प्रयास गरेँ तर उस्ले बुझेन । उस्ले बुझेको थिएन तर इमानदारपूर्वक कुरा गरिरहेको थियो । कैदीहरुले एक सुकामा पाउने साग चार रुपैयाँमा बेच्नु भएन भनेर आवाज उठाउँदा कुटाइ खाने अवस्था थियो । तर, लालबहादुरले कुटाइ खाने डरले त्यसो भनिरहेको थिएन । बिचरा उस्को बुझाई नै त्यति थियो ।’

सरकार संरक्षित तस्करहरु सरकार भन्दा शक्तिशाली

ओलीले सरकारसँग सुन गाल्ने मिसिन एउटा मात्रै रहेको तर, सरकारको संरक्षणमा बसेकाहरुसँग पाँच वटा सुन गाल्ने मिसिन रहेको तथ्य प्रस्तुत गर्नुभयो ‘सरकारसँग भन्दा तस्करसँग पाँच गुणा बढी सुन गाल्ने मिसिन छन् भनेपछि देश कसरी चलिरहेको छ ? हामी यस्तो अवस्थामा छौँ,’ ओलीले भन्नुभयो, ‘पहिला पक्राउ परेको सुन एक कुइन्टल भनियो । गाल्दा ६१ केजी भयो । गाल्दागाल्दै फेरि ६१ केजी सुन ६० केजी भयो । गाल्दागाल्दै फेरि एक केजी हरायो । यस्तो सरकार भएको देशमा हामी छौँ । यस्तो स्थितिलाई सच्याउन जरुरी छ । यसमा मेरो प्रयास निरन्तर रहने छ ।’

ओलीले अब एमालेले उपभोक्ता हित र संरक्षणलाई जागर अभियानका रुपमा अघि बढाउने जानकारी दिनुभयो । ‘हामी सात मध्ये ६ प्रदेश र एक विशेष प्रदेशको अधिवेशन गर्दै छौँ । दसैं अघि नै यी अधिवेशन सम्पन्न हुँदैछन् । ती अधिवेशन र सभाहरुमा, बन्दशस्त्रमा हामी यी कुराहरु लैजाने छौँ,’ उहाँले भन्नुभयो, ‘स्थानीय जनप्रतिनिधि र कार्यकर्तालाई पनि यी कुराप्रति सजकता अपनाउन ध्यान दिने छौं ।’

चिनी छैन, व्यापारी पनि हराए

उहाँले आफू प्रधानन्त्री हुँदा चिनी व्यापारीको एउटा समूहले गरेको वदमासी पनि खोतल्नुभयो । ‘म प्रधानमन्त्री हुँदा एक पटक चीनी व्यापारीहरु म भएको ठाउँमा आउनुभयो । उहाँहरुले ‘हामीसँग गोदाममा प्रसस्त मात्रामा चिनी छ । हामीसँग अर्को वर्षलाई समेत पुग्ने चिनी गोदाममा छ । त्यसैले अहिले हामीसँग चिनी किन्न सक्ने अवस्था छैन । त्यसैले चिनी आयत रोक्दिनु पर्यो’ भन्नुभयो,’ ओलीले भन्नुभयो, ‘जव दसैंको मुख आयो । बजारमा चिनी छैन । चिनी गोदाममा छ भन्ने मान्छे पनि छैन । बरु त्यतिबेला भाटभटेनीले सुपथ मूल्यमा चिनी बेचेको थियो । यो भनेको व्यवसायीको पनि राम्रो काम भएन । यस्तो गलत तरिकाले पनि उपभोक्ता झन बढी ठगिने अवस्था हुन्छ । यस्तो कुरामा व्यापारी,व्यवसायीले पनि ध्यान दिन जरुरी छ । यस्तो प्रवृत्तिलाई सरकारल कडाइका साथ रोक्नुपर्छ ।’

सुन तस्कर भगाउने सरकार

अहिलेको सरकारले पलानो व्यापारी भनेर एकजनालाई समात्ने अनि सुन तस्करहरुलाई भगाउने काम गरिरहेको आरोप ओलीले लगाउनुभयो । ‘विमानस्थलमा किन सुन समातिएन ? किन सिनामंगल पुगेपछि समातियो ? ड्राइभरलाई सिनामंगलमा समातेर किन गोदामसम्म जान दिइएन ? ड्राइभरलाई गोदाममा पुर्याएपछि त्यहाँ पनि छापा हान्नुपर्छ भनेर गोदामसम्म लगिएन । उनीहरुलाई प्रहरी प्रहरी कहाँ, राजस्वमा पुर्याएर खोजेका बेला हाजिर हुन्नु भनेर भगाउने कामभयो,’ ओलीले भन्नुभयो, ‘उनीहरुलाई भगाएकै हो । सुनिन शर्मा जो सांसद छन् । मेडिकल कलेज चलाएर बसेका छन् । उनको प्रमाणपत्र हेर्नु पर्यो भनेर ऊ भाग्छ भनेर पहिल्यै समातियो । अनि सुन तस्करचाँहि भाग्दैन भनेर खोजेका बेला हाजिर हुन्छु भनेर छाडियो । अनि सबै मिलाइ सकेपछि गोदाममा छापा मारेर ६५ वटा सुन राख्ने खाली बाकस समातेको नाटक गरियो । सामातेको ड्राइभरलाई छाडेर सबै मिलाउ, लुगाउ भनेर पठाएको तीन दिनपछि गोदाममा छापा मार्दा सुन भेटिन्छ ?’

उहाँले सरकारको यो भन्दा निर्वस्त्र के–हुन्छ ? भन्दै प्रश्न गर्नुभयो । ओलीले यी सबै विषयमा सरकारसँग गम्भीरतापूर्वक कुराकानी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘ प्रधानमन्त्री फर्किएपछि म प्रधानमन्त्रीसँग यो विषयमा कुराकानी गर्छु,’ ओलीले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *