एमाले मुख्यालयबाट अभियन्ता प्रेमलाल– न्युरोडका सुुन पसल तस्करको मिलेमतोमा चलेका छन्

काठमाडौं, १ असोज । उपभोक्ता हितका अभियन्ता प्रेमलाल महर्जनले अहिले न्युरोडमा साँझ ८ बजेपछि कुकुर भुक्न थालेको तितो यथार्थ प्रस्तुत गर्नुभएको छ । नेकपा (एमाले) केन्द्रीय उपभोक्ता हित तथा सुशासन विभागले एमाले मुख्यालय, च्यासलमा आयोजना गरेको ‘बढ्दो महङ्गी र उपभोक्ता हितको सवाल’ विषयक विचागोष्ठीमा बोल्दै यस्तो बताउनु भएको हो ।

‘मेरो युवा अवस्थामा मध्यरातको १२ बजेसम्म न्युरोडमा चिया–खाजा खाएर बस्थेँ र त्यहाँबाट हिँडेर पाटन बंगलामुखीसम्म जान्थेँ,’ उहाँले भन्नुभयो, ‘अहिले हामीले चाहेको शासन व्यवस्था छ । तर, त्यहि न्युरोडको कुरा गर्ने हो भने १ चौथाई पसल त बिहानदेखि बेलुकासम्म बन्द रहेको अवस्था छ । साँझ ८ बजेपछि कुकुर भुक्न थाल्छन् ।’
उहाँले बाणिज्य विभागले गरेको अनुगमनबाट चित्त नबुझेपछि व्यापारीले होइन सरकारले नै बाणिज्य विभागको महानिर्देशकलाई हटाएको तितो यथार्थ पनि उहाँले प्रस्तुत गर्नुभयो ।

‘हामीले सिन्डिकेटकै कुरा गर्ने हो भने एक महिना अघि १० रुपैयाँमा किनेको चिनी १ सय ३० रुपैयाँ पुगेको छ । यस्को अनुगमन कस्ले गर्छ ?,’ उहाँले भन्नुभयो, ‘सडक यात्राबाट ४ घण्टामा पुगिने पोखरा अहिले घण्टौंमा पनि नपुग्ने अवस्था छ । जहाजमा जाऔं त्यहाँ ठगी भैरहेको छ । त्यहि भएर मैले काम पर्दा पनि पोखरा नै जान छाडिदिएको छु ।’

नीति, निर्माण तहमा बस्ने सरकारका व्यक्तिहरु नै अहिले बेइमान भएको भन्दै आम नागरिकको हैसियतले आफूले बोलेको उहाँले बताउनुभयो । ‘विधिसम्मत ढंगले गर्ने काम केही पनि भएको छैन । नेताहरुले पाउनुपर्ने सबै पाइसकेका छन् । हामीले नेताहरुलाई सम्मान पनि दिएका छौँ । उहाँहरुले लिएर जाने त केही छैन तर किन यस्तो भैरहेको छ,’ उहाँले भन्नुभयो, ‘एक महिनामा एक केजी चिनीको मूल्यमा ४० रुपैयाँ वृद्धि हुन्छ भने उपभोक्ताको हित कसरी हुन्छ ?’

भारतले जुलाइमा आलु–प्याज निकासी बन्द गर्ने भनेर निर्णय गरेको भोलिपल्टै ३५ रुपैयाँमा पाउने प्याजको मूल्य ६० रुपैयाँ पुग्दा कसैले पनि नबोलेको उहाँको भनाई थियो । ‘आलु केजीमै सय भन्दा बढी एकै पटक बढ्दा तपाईँहरु कहाँ हुनुहुन्थ्यो ? सांसदहरु कहाँ थिए ? मैले यो कुरा बोल्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘मैले यो कुरा बोलिन भने म अधर्मी हुन्छु, पापी हुन्छु । मैले बोल्नुपर्छ । उद्योग बन्द छ, व्यापार–व्यवसाय बन्द छ । तर, न्यूरोडका सुन पसल धुमधामसँग चलेका छन् ।’

अरु व्यापार–व्यवसाय बन्द हुँदा सुन पसल किन त्यसरी चलिरहेका छन् भन्दै उहाँले प्रश्न गर्र्नुभयो । ‘एउटा सुन पसल चलाउन करोड–करोड खर्च गरिरहेका छन् । दसौं कर्मचारी राखेका हुन्छन् । त्यो पैसा कहाँबाट आयो ?,’ उहाँको दाबी थियो, ‘क्वीण्टलका क्वीण्टल सुन ल्याउनेहरुले त्यो पसल चलाएका छन् । हामी उपभोक्ता जाँदा व्यापार–व्यवसाय गर्नेहरुले ठगिरहेका छन् । तपाईँहरुको ध्यान त्यतातिर गएको छ ?’

अन्तराष्ट्रिय विमानस्थल भन्सारबाट छुटेर आएको सुन तीनकुनेमा समातिने कुरालाई पनि उहाँले योजनाबद्ध भन्नुभयो । ‘सुन तीन कुनेमा समात्दा राजश्व अनुसन्धान विभागले कति न ठूलो काम गर्यो भनेर हल्ला गरिन्छ,’ उहाँले भन्नुभयो, ‘सीआइवी र अनुसन्धान विभाग त विमानस्थल भित्र पनि त थियो नि । किन समातिएन ?’

दिनको चार किलो सुन अहिले पनि विमानस्थलको भन्सारबाट अवैधरुपमा आइरहेको दाबी गर्नुभयो । ‘यो कुरा स्वयं नेपाल प्रहरीका प्रमुखले बोलेको कुरा हो । गृहमन्त्रीले राखेको बैठकमा नेपाल प्रहरीका प्रमुखले भनेको कुरा हो यो,’ उहाँले भन्नुभयो, ‘मैले कुरा राखेपछि उहाँले हो भन्नुभएको हो । यो भनेको हाम्रो देशको सुशासनलाई विमानस्थलको भन्सार र सिंहदरबारले गिज्याइरहेको छ । उपभोक्ताको अधिकार सिंहदबारको दक्षिणढोकाबाट बाहिर निस्किन सकेको छैन ।’

सम्वोधनको अन्तिममा महर्जनले कार्यक्रमका प्रमुख अतिथि केपी शर्मा ओलीतर्फ फर्किएर ‘सुशासनको प्रत्याभूति दिने काम गर्नुहोस् । तपाईंको पार्टीले त्यो काम मात्रै गर्न सक्यो भने आउँदो चुनाव तपाईँहरुको पक्षमा आउँने छ’ भन्नुभयो ।