प्रधानमन्त्रीका नातेदार नै अबैध धन्दामा संलग्न रहेको ज्योति बानियाँको दाबी

काठमाडौं, १ असोज । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाँले नेपालमा १४.२ केजीको मात्रै सिलिण्डर प्रयोगमा ल्याउन पाइने भए पनि त्यो भन्दा ठूलो मात्राका सिलिण्डर सञ्चालनमा ल्याएर उपभोक्ताको हित विपरित काम भैरहेको आरोप लगाउनु भएको हो ।

नेकपा (एमाले) केन्द्रीय उपभोक्ता हित तथा सुशासन विभागले एमाले मुख्यालय, च्यासलमा आयोजना गरेको ‘बढ्दो महङ्गी र उपभोक्ता हितको सवाल’ विषयक विचागोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । ‘नेपालमा १४.२ केजीको मात्रै सिलिण्डर प्रयोगमा ल्याउन पाउने व्यवस्था छ,’ उहाँले भन्नुभयो, ‘त्यो भन्दा बढीको अनुमति छैन । तर, नेपाल ग्याँस जो लगानी भारतीय भने पनि नेपालीले लगानी गरेको उद्योग छ ।’

उहाँले त्यो उद्योग अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पारिवारिक नातेदारले चलाइरहेको स्मरण गराउनुभयो । ‘प्रधानमन्त्रीकै आफन्त (भाञ्जा)ले चलाइरहेको सो उद्योगले अहिले ५० केजी र ४ सय ५० केजीका सिलिण्डर भटाभट बजारमा पठाउन थालेको छ,’ उहाँले भन्नुभयो, ‘दुनियाँमै अवैध मानिएको यो काम प्रधानमन्त्रीका नातेदारले भटाभट गरिरहेका छन् । दोहन कतिसम्म भैरहेको छ भन्ने यो एउटा उदाहरण मात्रै हो ।’

उहाँले यो गम्भीर विषयमा छानविन गर्नुपर्ने माग राख्नुभयो । ‘अहिले त्यहि कम्पनीको नाममा ग्याँस भन्ने ट्याङ्कर समेत आउन थालेका छन् । उनीहरुले घरघरमा गएर ग्याँस भर्न थालेको भन्ने छ । हामी नापतौल विभागमा छौँ, हामीले त्यसलाई अनुमति दिएका छैनौँ तर, त्यस्तो अवैध काम भैरहेको छ,’ बाँनियाले भन्नुभयो, ‘यसरी राज्यसत्ताको दुरुपयोग गरेर त्यो पनि आफन्तका लागि राज्य सञ्चालन हुन्छ भने त्यो डरलाग्दो कुरा हो ।’

उहाँले यो विषयमा छुट्टै छानविन समिति बनाएर छानविन गर्न आवश्यक रहेको भन्दै बालुवाटारले कर्मचारीसँग सूचना लिने र त्यसपछि सरुवा गर्ने जस्तो गलत कार्य समेत गर्दै आएको समेत आरोप लगाउनुभयो । उहाँले कानुनका दफाहरु विक्री हुन थालेको पनि आरोप लगाउनुभयो ।