खनाल एमालेसँग नरम बन्दा नेपाल आक्रोसित, एकीकृतमा भुको आगो बन्दै विवाद

काठमाडौं, ६ असोज । अहिले नेकपा एकीकृत समाजवादी भित्र अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिच देखिने गरी द्वन्द्व बढ्न थालेको छ । सम्मानित नेता खनाल अहिले कांग्रेससहितको गठबन्धनबाट अलग हुनुपर्ने लाइनमा हुनुहुन्छ ।

खनाल पछिल्लो समय गठबन्धनसँग भन्दा पनि एमालेसँग बढी नरम बन्न थालेपछि नेपाल र खनालबिच द्वन्द्व बढेको हो । नेपाल कांग्रेसलाई चिढ्याएर एमालेलाई खोज्न नहुने लाइनमा हुनुहुन्छ । उहाँले त्यसो गर्नु भनेको पार्टी सिध्याउने कुरा भएको भन्दै त्यता लाग्नु नहुने अडानमा हुनुहुन्छ ।

आज नेकपा एसनिकट कानुन व्यवसायीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन सरकार छाड्ने र कांग्रेसलाई चिढ्याउने कुराले पार्टी सिद्धिने र सिंगो अभियान धराशायी हुने बताउनुभयो । उहाँले यो कुरा खनालप्रति लक्षित गर्दै बोल्नु भएको थियो । पछिल्लो समय सम्मानित नेता झलनाथ खनाल समाजवादी मोर्चाको समेत विपक्षमा हुनुहुन्छ ।
त्यसो त केही दिन अघि नेकपा (एमाले)ले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम सहभागी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खनालले गठबन्धन टुटाएर एमालेसँग मिलेर कोशी प्रदेशमा सरकार बनाउनु पर्नेमा जोड दिनुभएको थियो । ‘कोशी प्रदेशमा अहिले पहिचानको मुद्धा उठाएर आन्दोलन गरिरहेका आन्दोनकारी साथीहरुसँग गहन ढंगले छलफल र बहस गर्नुपर्छ,’ उहाँले भन्नुभएको थियो, ‘अनि साझा सहमतिमा पुग्न नयाँ शिराबाट अघि बढ्नुपर्छ ।’ खनालले कोशी प्रदेशमा सरकार गठनका लागि बाम एकता गर्नुपर्नेमा जोड दिनुभएको थियो । ‘बाम एकता गरौं, सरकार बनाऔं, कोशी प्रदेशबाट सुरु गरौँ,’ उहाँले सञ्चारकर्मीहरुको जिज्ञासामा जवाफ फर्काएँदै भन्नुभएको थियो, ‘मेरो त्यति हो धारणा ।’

तत्कालिन नेकपा विभाजनपछि नेकपा एकीकृत समाजवादी बनेको थियो । त्योपछि पहिलो पटक नेकपा एमालेको मुख्यालय पुग्नु भएको खनाललाई सञ्चारकर्मीहरुले पहिलो पटक आफ्नो पुरानो पार्टीको मुख्यालय आउँदा कस्तो लागिरहेको छ भनेर प्रश्न गर्दा उहाँले खुशी लागेको बताउनुभएको थियो । ‘नेकपा (एमाले)ले मलाई कार्यक्रममा निम्ता गर्यो । यो पहिलो निम्ता हो,’ उहाँले भन्नुभएको थियो, ‘त्यसकारण नेकपा (एमाले)लाई म धन्यवाद दिन चाहन्छु । मलाई निम्ता गरेर एमालेले नेकपा एकीकृत समाजवादीको तर्फबाट मन्तव्य दिने अवसर जुटाइ दियो । त्यसका लागि फेरि धन्यवाद ।’

अहिले खनाल नेम्वाङको देहावशानपछि खाली रहेको इलामबाट एमालेले उम्मेदवार अघि सारोस् भन्ने भित्री इच्छामा रहेको बुझिएको छ । त्यसकारण पनि खनालको झुकाव एमालेतर्फ बढी भएको भन्ने अनुभान गर्न सकिने आधार बनेको छ । त्यति मात्रै होइन खनाल गठबन्धन सरकारमा २ जना मन्त्री पठाएर केही उपलब्धि नहुने भन्दै कांग्रेससँगै प्रधान अन्तर्विरोध रहेको बताउँदै आउनु भएको छ ।

तर, नेपाल भने गठबन्धनको सरकारबाट बाहिरिनुपर्छ भन्नु पार्टी सिध्याउन खोज्ने कुरा हो भन्दै खनालको विरोधमा हुनुहुन्छ । आजको भेलामा पनि नेपालले कांग्रेसलाई शत्रु बनाएर,कांग्रेसलाई बिच्क्याएर अरू कसैलाई खुसी पार्न खोजेको छ भने त्यो कुरा सिंगो अभियान धराशायी पार्ने हो भन्दै त्यो दिशामा जान नसकिने बताउनुभयो । यसरी दुई नेताबिचको टकराव पार्टी फुटसम्म पुग्ने वा एमालेमा विलय हुनेसम्म पुग्ने अनुमान पनि धेरैले गर्दै आएका छन् ।