इन्द्रजात्रा अवलोकन गर्न तीन देशका २० पाहुना काठमाडौं आउँदै
काठमाडौं, ८ असोज । काठमाडौंको ठूलो पर्व इन्द्रजात्रा अवलोकन गर्न यस वर्ष पनि काठमाडौं महानगरपालिकाले विभिन्न देशका मेयरहरूलाई निमन्त्रण गरेको छ । इन्द्रजात्रा अवलोकन गर्न यो वर्ष तीन देशका २० प्रतिनिधिहरू काठमाडौं आउने भएका छन् ।
इन्द्रजात्रा अवलोकनका लागि यो वर्ष चीन, कोरिया र अमेरिकाका विभिन्न नगरया प्रतिनिधिहरू काठमाडौं आउने भएका छन् । उनीहरू सबैको आतिथ्य सत्कार काठमाडौं महानगरपालिकाले गर्नेछ ।
यसै बीच काठमाडौं महानगरपालिका र इन्द्रजात्रा व्यवस्थापन समितिले इन्द्रजात्राका लागि आवश्यक व्यवस्थापनको तयारी पूरा गरेको छ । आफ्नो तयारी बारे जानकारी दिन काठमाडौं महानगरपालिकाले आजै एक पत्रकार सम्मेलन पनि आयोजना गर्दैछ ।
इन्द्रजात्रामा विदेशी पाहुनालाई निमन्त्रण गरी अवलोकन गराउने चलन पूर्व मेयर विद्यासुन्दर शाक्यको पालादेखि शुरु भएको हो ।
इन्द्रजात्राको पहिलो दिनका रुपमा भोलि काठमाडौंको हनुमानढोकामा इन्द्रध्वज अर्थात यःसिं ठड्याइँदैछ । भोलि बिहान १०ः३९ बजेको साइतमा यःसिं ठड्याइँदैछ । यःसिं ठड्याएपछि इन्द्रजात्रा आरम्भ भएको मानिन्छ । यःसिं ठड्याउने काम काठमाडौंका मानन्धर समुदायल् गर्दछ ।
यसै बीच इन्द्रजात्रामा निकालिने दीप्याखं हिजो सार्वजनिक गरिएको छ । इन्द्रजात्रामा सबैभन्दा पहिले सार्वजनिक गरिने नाच दीप्याखं हो । काठमाडौंको किलागल टोलबाट यो नाच निकालिन्छ । हिजो किलागल टोलकै डबलीमा यो नाच प्रदर्शन गरिएको थियो ।
इन्द्रजात्रामा निकालिने पुलुकिसि नाचको लागि पनि तयारी पूरा भएको छ । हिजो पुलुकिसिको मुखौटालाई रंगाउने कार्य सम्पन्न गरिएको थियो । पुलुकिसि र दीप्याखं किलागल टोलका महर्जन समुदायले निकाल्ने गर्दछ ।