गरीबको सामान मिल्काएर मात्रै फुटपाथको समस्या समाधान हुँदैन, बिहान ३ बेलुका २ घण्टा व्यापार गर्न दिऔंः ओली
काठमाडौं, ८ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन २०८४’ लाई कसरी पूरा गर्छौं भन्ने कुरामा एमाले बागमती प्रदेशको अधिवेशन ऐतिहासिक हुने बताउनु भएको छ । नेकपा एमाले वाग्मती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई भृकुटीमण्डपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले सम्वोधनकै क्रममा समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभिभारा नेकपा एमालेको काँधमा रहेको पनि बताउनुभयो ।
उहाँले नेकपा (एमाले) समाज रूपान्तरण र विकास, राष्ट्रियताको रक्षा लगायतका विषयमा सदैव गम्भीर रहेको उल्लेख गर्नुभयो । एमालेले राष्ट्रिय शक्ति र राष्ट्रिय भावनाको प्रतिनिधित्व गर्दै आएको उहाँको भनाई थियो । एमाले विचार, नीति र उद्देश्य सहितको पार्टी भएको भन्दै एमालेमा विचारमा कुनै द्विविधा नरहेको स्पष्ट पार्नुभयो । उहाँले बागमती सभ्यता विश्वकै नमुना र ऐतिहासिक स्थल भएको भन्दै ओलीले नेपाल प्राकृतिक हिसाबले सुन्दर मात्र नभई विकास र समृद्धिको समेत उद्गमस्थल भएको उल्लेख गर्नुभयो ।
बागमती प्रदेशले रोवर्टबाट बागमती प्रदेशको प्रथम अधिवेशन उद्घाटन गरेको छ । रोवर्टले दिएको रिमोटबाट दीप प्रज्वलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रम उद्घाटनमा ‘एमालेको झण्डा उठाउँदै न्यायप्रेमी जनता जुटाउँदै समृद्ध नेपाल खुशी नेपाली बनाउँन जुट्दैछ प्रदेश बागमती’ गीत गुञ्जिएको थियो । कार्यक्रम उद्घाटन अघि काठमाडौंको ६ ठाउँबाट र्याली निकालिएको थियो ।
ओलीले एक महिनासम्म एमालेले संघर्ष गरेर सुन तस्करीको व्यापक छलफल गर्नुपर्छ भनेको भन्दै एक महिनापछि आयोग बनाउन मानेको उल्लेख गर्नुभयो । सरकार अहिले सुन प्रकरणको छानबिन गर्न पाइँदैन भन्न थालेको भन्दै ओलीले भन्नुभयो, ‘सरकार अहिले छानबिन गर्न पाइँदैन भन्छ । भविष्यमा कस्तो कानून बनाउने भन्नेबारे छलफल गरौं भन्छ । १०० किलो हामीले सुन्यौं तर एक महिनापछि ६१ किलो मात्रै भयो । बाँकी कहाँ गयो ? इलेक्ट्रिक सिग्रेटबाट ल्याइएको ९ किलो सुनको कारबाही कहाँ पुग्यो ?’
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गिरिबन्धु टिस्टेटको फाइल खोल्न पनि चुनौती समेत दिनुभयो । उहाँले कार्यक्रमलाई सम्वोधन गर्दै गरीबको सामान फालेर मात्रै फुटपाथको समस्या समाधान नहुने उल्लेख गर्नुभयो । विकल्प दिएर फुटपाथ व्यवसायको व्यवस्थापन गर्नुपर्ने उहाँको भनाई थियो ।
फुटपाथ व्यवसायीलाई विकल्प दिनुको सट्टा नगरप्रहरीले उनीहरूमाथि उल्टो ज्यादती गरिरहेको उहाँको आरोप थियो । उहाँले गरीबले बल्लबल्ल जोडेको सामान फाल्दैमा समस्या समाधान नहुने भन्दै विकल्प तयार नहुन्जेल बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म फुटपाथमा व्यापार गर्न दिन सकिने उल्लेख गर्नुभयो ।