एमालेलाई चौतफी घेराबन्दी छः वरिष्ठ उपाध्यक्ष पोखरेल

विराटनगर, १२ असोज । नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहमतिबाट नेतृत्व चयनका लागि सुझाव दिनुभएको छ। नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्धाटन समारोहमा बोल्दै नेता पोखरेलले यस्तो सुझाव दिनुभएको हो । एमालेलाई कमजोर बनाउन अहिले चौतर्फी घेराबन्दी भइरहेको भन्दै कोशी प्रदेशबाट एकताको सन्देश दिन पार्टीका कार्यकर्तालाई सुझाव दिनुभयो ।

‘सहमतिका साथ नेतृत्व चयन हुनुुपर्छ,’ उहाँले भन्नुभयो, ‘पार्टीलाई बचाउन त्याग गर्नुपर्छ ।’ उहाँले कोशी जातीय विविधताले भरिपूर्ण भएको प्रदेश भएकाले सोहि अनुरुप समावेशी ढंगले नेतृत्व चयन हुनुपर्ने जोड दिनुभयो । उहाँले एमाले अब मिसन ०८४ मा लागेको भन्दै एक्लै बहुमत ल्याएर मुलुकमा स्थायित्व बनाउन मिसन ०८४ अघि सारेको उहाँको भनाई थियो ।

नेकपा (एमाले) को प्रथम कोशी प्रदेश अधिवेशन जारी छ । विराटनगरस्थित होटल मनास्लुमा सुरु भएको अधिवेशनमा प्रदेशभरबाट एक हजार ५० जना प्रतिनिधिको सहभागिता रहेको छ ।