महिलाले रथ तान्दै इन्द्रजात्रा सम्पन्न

काठमाडौं, १६ असोज । काठमाडौंको सर्वाधिक लोकप्रिय र लामो जात्रा इन्द्रजात्रा सम्पन्न भयो । हिजो बेलुकी ८ः३९ बजेको साइतमा हनुमानढोकाको इन्द्रध्वज अर्थात यःसिं ढालेपछि इन्द्रजात्रा विधिवत् रुपमा समापन भएको थियो ।

ढालिएको यःसिंलाई घिसार्दै लगेर टेकुस्थित पचली भैरव मन्दिर छेउमा सेलाइएको थियो ।

हनुमानढोकामा यःसिं ढालिसक्दा पनि उता कुमारीको रथयात्रा भने सकिएको थिएन । हिजो इन्द्रजात्राको अन्तिम दिन श्री कुमारीको रथलाई काठमाडौंको किलागल टोलमा तानिएको थियो । हिजाको कुमारीको रथयात्रालाई ‘नानीचा याः’ भनिन्छ ।

हिजो श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ महिलाहरूले मात्रै तानेर सम्पन्न गरिएको थियो । नानीचा याः विशेषतः एक महिलाप्रति नै समर्पित जात्रा हो । त्यसैले गत केही वर्ष अघिदेखि यो दिनको रथयात्रा महिलाहरूले मात्रै तानेर सम्पन्न गर्ने चलन गरिएको थियो ।

रथ तान्ने कार्यमा सहभागी महिलाहरूको हौसला बढाउन काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल पनि पुग्नुभएको थियो । उहाँले महिलाहरू मात्रै रथ तान्ने जात्रामा आफू सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो ।

कुमारीको रथयात्रा सम्पन्न भएपछि हिजै बेलुका राष्ट्रपति रामचन्द्र पौडेल बसन्तपुरस्थित कुमारी घर जानुभई श्री कुमारीको हातबाट टीका ग्रहण गर्नुभएको थियो ।
उक्त अवसरमा उहाँले श्री गणेश र श्री भैरवबाट पनि टीका ग्रहण गर्नुभएको थियो ।