बझाङमा केन्द्रविन्दु बनाएर भूकम्प, ठूलो मात्रामा भौतिक क्षति (११ तस्बिर)

काठमाडौं, १६ असोज । बझाङमा केन्द्रविन्दु भएर आज दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । त्यो बाहेक ६ भन्दा बढी पटक गएको भूकम्पका कारण बझाङ र सुदुरपश्चि आसपासको क्षेत्रमा त्रास उत्पन्न भएको छ । ३ बजेर ६ मिनेट जाँदा सबै भन्दा ठूलो भूकम्पको धक्का गएको भए पनि त्यसअघि २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यो पहिलो धक्का थियो । ३ बजेर ६ मिनेट पछि भने ४ रेक्टरमाथिका पराकम्पनहरु गएको केन्द्रका भूकम्पमापन केन्द्रले जानकारी दिएको छ ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरले बझाङको तलकोट क्षेत्रमा दिउँसो आएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण अहिले पुरै जिल्ला त्रसित रहको भन्दै सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । उहाँले अहिलेसम्म मानवीय क्षतिबारे कुनै अप्रिय खबर प्राप्त नभएको भन्दै निकै ठूलो भौतिक क्षति भएको उल्लेख गर्नुभएको छ ।

‘धेरै घरहरु भत्केका छन स्कूल, स्वास्थका भवनहरुलगायत भौतिक संरचनाहरु जिल्लाभरि भत्किएका छन भने सुख्खा पहिरोहरु ठाउँठाउँमा गएर सडक बाटोहरु अबरुद्ध भएका छन्,’ महरले भन्नुभयो, ‘त्यसैगरी स्कुलमा भागदौड चल्दा स्कूलका विद्यार्थीहरु घाइते भएका छन् । अस्पतालमा सुत्केरीलाई बाहिर ल्याएर सुस्केरी गराइएको छ । अहिले बझाङ जिल्लाको अवस्था तनावग्रस्त छ । अहिले पनि पराकम्पनहरु गैरहेका छन ।’ उहाँले सबैलाई उद्धारमा जुट्न आग्रह गर्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

सबै तस्बिर महरको फेसवुक र साइपाल खवरबाट