चाडपर्वको बेला सरकार उपभोक्ता हित संरक्षणका सवालमा सचेत छ : मुख्यसचिव डा. अर्याल

काठमाडौं,२२ असाेज । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुने बताउनुभयाे ।

नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा कालाेबजारी तथा विचौलियाहरुले चामल, तेल, चीनी, माछा मासु, लत्ताकपडाको मूल्यमा अस्वाभाविक मूल्य बृद्धि गर्नुकासाथै कृत्रिम अभाव सिर्जना भईरहेको अवस्थालाई मध्यनजर गर्दै आज तराई विकास तथा सञ्चार केन्द्र नेपालले एक कार्यक्रमको आयोजना गरेको हाे । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले उक्त कुरा बताउनुभएकाे हाे ।

उहाँले बजार मूल्य नियन्त्रण गर्न, अखाद्य पदार्थको मिसावट रोक्न र म्याद गुज्रेका खाद्य पदार्थ विक्रि वितरण हुनबाट रोक्न बजार अनुगमन नियमित र प्रभावकारी ढँगले हुनुपर्नेमा जोड दिनुभयाे ।

उहाँले बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलगायत सबै निकायहरुले नियमित बजार अनुगमनमा ध्यान दिनुपर्ने बताउनुभयाे ।

कालाबजारी र विचौलियाहरुका कारण पछिल्लो समय चीनी लगायतका खाद्य पदार्थहरुमा अस्वाभाविक रुपमा मूल्यबृद्धि भएको प्रति इंगित गर्दै मुख्यसचिव अर्यालले अधिकार प्राप्त प्रशासनिक जगत् उपभोक्ता हित प्रवद्र्धनमा कठोर भएर लाग्न निर्देशन समेत दिनुभयाे ।

काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले चाडबाडकाे बेला उपत्यका सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्नका लागि सिंगो प्रहरी संगठन सम्वेदनशिल रहेको बताउनुभयाे ।

कार्यक्रममा काठमाडौ जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बजार अनुगमन प्रभावकारी बन्नका लागि उपभोक्ता सचेतना जरुरी रहेको बतायनुभयाे । उहाँले चाडपर्वको बेला उपभोक्ता हित विपरितका कार्य बढ्ने हुँदा वाणिज्य तथा आपूर्ति हित संरक्षण विभागले दिएको अधिकारलाई प्रयोग गर्दै अनुगमनका कार्यलाई तिव्रता दिएको बताउनुभयाे ।

कार्यक्रममा ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बजेट र स्रोत साधनको अभावका बाबजुद पनि ललितपुरमा बजार अनुगमनको कार्य प्रभावकारी बनाउन लागि परेको बताउनुभयाे । वाणिज्य तथा आपूर्ति हित संरक्षण विभागसँगको सहकार्यमा यस आर्थिक वर्षमा ३३ फर्ममा अनुगमन गरेको जानकारी गराउँदै प्रजिअ पण्डितले उपभोक्ता हित विपरितका गतिविधि भएमा आफूँहरुलाई सूचना दिन अपिल गर्नुभयाे ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बजार अनुगमनमा नागरिकको दायित्व महत्वपूर्ण हुने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हामी एक बस्तुको उत्पादक तथा विक्रेता भएपनि हामी सबै बस्तुको उपभोक्ता हौँ । त्यसैले हामी सबै व्यवसायी तथा व्यापारीहरुले आफ्नो धर्म र मूल्य मान्यतालाई अंगाल्नुपर्दछ । सबै नागरिकहरु जिम्मेवार र जवाफदेही हुन सकेमा अटोमेटिक नियमित बजार अनुगमन हुन्छ, यसैमा कसैको मुख ताक्नु पर्दैन ।’

प्रजिअ श्रेष्ठले बजार अनुगमनका क्रममा फर्म दर्ता र नविकरण भए नभएको, म्याद गुज्रिएका खाद्य पदार्थ, मूल्यसूची देखि भण्डारणको अवस्थाहरुलाई प्राथमिकता दिएर अनुगमनको कार्यलाई तिव्रता दिएको बताए । उद्योग वाणिज्य संघको सहयोगमा भक्तपुर जिल्लामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त टिमले प्रहरी प्रशासनलाई लिएर अनुगमन गर्ने गरेको बताउनुभाे ।

वाणिज्य, आपूर्ति तथा हित संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलवालले विभागले स्वच्छ र प्रतिस्पर्धी बजारमा निर्माणमा सक्रिय भएर लागि परेको बताउनुभयाे।

नेपालीहरुको महान् पर्व विजयादशमी, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा विभागप्रति आम उपभोक्ताको जुन अपेक्षा रहेको छ, त्यो अपेक्षालाई पूरा गर्न लागि परेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयने, ‘चाडपर्वको बेला उपभोग्य बस्तुको माग बढिरहँदा जुन किसिमको अभाव र मूल्यबृद्धि छ, त्यसलाई लक्षित गरेर व्यावसायिक लक्षित कार्ययोजन तयार गरेको छौँ । जसमा १० वटा अनुगमन टोली खटिएका छन् ।’

महानिर्देशक चिलुवालले बजार मूल्यलाई एकरुपता कायम गर्नका लागि विभागले छिट्टै उपभोग्य बस्तुको मूल्य समेत सार्वजनिक गर्ने बताउनुभयाे ।

कार्यक्रममा बोल्नुहुँदै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका विभागीय प्रमुख ब्रजेश कुमार झाले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनका ल्याएको जानकारी गराउनुभयाे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईको अध्यक्षतामा आयोजना भएको हो । कार्यक्रममा बोल्दै चौलागाईंले बजार अनुगमनलाई फरक फरक निकायले फरक फरक समयमा गर्नुभन्दा एकद्वारा प्रणालीबाट गर्न सके त्यसले आशातित परिणाम दिन सक्नेमा विश्वास व्यक्त गरे ।