नेपालको ‘चुच्चे नक्सा’ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण
काठमाडौं, २५ असोज । इजरायलमा दश नेपाली नागरिकको हत्याले नेपाल शोकग्रस्त भइरहेकै बेला छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम नेपालको नेपाली भूमि गुञ्जीको आकस्मिक भ्रमण गरेका छन् । गुञ्जी नेपाली भूभागमा रहेको लिम्पियाधुरा क्षेत्रकै एक गाउँ हो । नेपालले सार्वजनिक गरेको नयाँ ‘चुच्चे नक्सा’ मा गुञ्जी गाउँ पनि नेपाली भूभागमै रहेको देखाइएको छ ।
भारतले उक्त क्षेत्रलाई अतिक्रमण गरी त्यहाँ सेना तैनाथ गरेका कारण लिम्पियाधुरा क्षेत्र नेपालकै भूभाग भएर पनि त्यहाँ नेपाली नागरिकलाई जान वर्जित गरिएको छ । अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो क्षेत्रमा आफ्नो दावीलाई अझै मजबूत बनाउन यस खाले अप्रासंगिक भ्रमण गरेको अनुमान गरिएको छ ।
भारतको अंग्रेजी दैनिक ‘टाइम्स अफ इण्डिया’ को अनलाइन संस्करणमा भनिए अनुसार मोदी भारतकै उत्तराखण्ड राज्यको पिथौरागढ भ्रमण गर्ने क्रममा सो ठाउँमा पुगेका हुन् । उनले पिथौरागढको कुमाउ क्षेत्र भ्रमण गरेको बताइएको छ । गुञ्जिी गाउँलाई सीमावर्ती गाउँ भनिएको छ ।
त्यहाँ मोदीले आदि कैलाशनाथ मन्दिरमा गई पूजापाठ र आरती गरेका थिए । सो क्रममा उनले डमरु बजाउनुका साथै शंख पनि फुकेका थिए । सो अवसरमा उनको साथमा उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी पनि साथमा थिए ।
सो ठाउँमा मोदीले ४२०० करोड भारु बराबरको विकास निर्माण सम्बन्धी परियोजना पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो भ्रमणबारे नेपालमा चर्चा चल्न थालेको छ । हिजै प्रतिनिधिसभामा बोल्नुहुँदै रास्वपाका अध्यक्ष रवि लामिछानेले भारतीय प्रधानमन्त्री नेपाली भूभागमा आउँदा पनि किन नेपालले स्वागत नगरेको भनी कटाक्ष गर्नुभएको छ ।
नेपाली भूमिलाई आफ्नै भूमि जस्तो मानेर प्रम मोदीले गरेको यो भ्रमणलाई नेपालमा आलोचना गरिएको छ ।