मुख्यमन्त्री नियुक्ति टार्न प्रदेश प्रमुखको नयाँ जुक्ति, सनाखत गराउन भोलिलाई निम्तो

विराटनगर, २६, असोज । कोशी प्रदेशमा केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा एमाले र कांग्रेसबाट विद्रोह गरेका प्रदेश सभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालय नै पुगे पनि प्रदेश प्रमुखले भने आज कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न टार्नु भएको छ । उहाँले एमालेका ३९ जना र सत्ता गठबन्धनको निर्णयको विरुद्वमा लागेका कांग्रेसका ९ जना प्रदेश सभा सदस्य प्रदेश प्रमुखको हस्ताक्षरलाई एक दिन भए पनि टार्न नयाँ जुक्ति निकाल्दै परिचयपत्रसहित हस्ताक्षर गर्न भोलिसम्मको समय दिनुभएको छ । प्रदेश प्रमुखका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै यस्तो सूचना दिनु भएको हो ।

‘संविधानको उपधार (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि मिति २०८० असोज २६ गते शुक्रबार अपरान्ह ५ बजेभित्र आफनो दाबी पेस गर्न आह्वान गरेबमोजिम आज मिति २०८०/६/२ गते अपरान्ह ५ बजेसम्म कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि कोशी प्रदेशसभा सदस्यहरु माननीय इन्द्र बहादुर आङ्बो र माननीय केदार कार्कीले ४७/४७ जना सदस्यहरुको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेको अवस्थामा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी प्रदेश सरकार गठनका लागि माननीय प्रदेश प्रमुखज्युुले भोलि मिति २०८०/६/२७ गते शनिबार बिहान ८ बजेदेखि दिउसो २ बजेसम्म दुबै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्नुभएका सम्पूर्ण प्रदेशसभा सदस्यहरुलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्ति भई सनाखत गरिदिने प्रयोजनाका लागि उपस्थित गराउने निर्णय गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

केन्द्रबाटै गठबन्धनका नेताहरुले सहमतिको प्रयास गरेका कारण प्रदेश प्रमुखलाई थमौतिका लागि दबाब दिएपछि खापुङले नयाँ जुक्ति निकाल्नु भएको स्रोतका भनाई छ ।