स्वर्गद्वारीमा ८ बुँदे आग्रह पत्र बुझ्दै ओलीले भन्नुभयोः आश्रम टेक्दा खुशी छु

प्युठान, २८ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली दर्शनका लागि स्वर्गद्वारी आश्रम पुग्नुभएको छ । आइतबार स्वर्गद्धारी दर्शन गर्न पुग्नु भएका ओलीले पहिला आउन मन हुँदा पनि समय अभावले मन्दिरको माथिबाटै हेलिकोप्टरबाट दर्शन गरेको भन्दै यो पटक आश्रममै आएर दर्शन गर्न पाउँदा खुशी लागेको बताउनुभयो । ‘आज आउने मौका मिल्यो, यो मौकाले पवित्र बनाएको छ,’ ओलीले भन्नुभयो । ओलीसँग आश्रमका स्वामी ध्यानानन्द गिरीले आश्रमको अवस्था र समस्या सम्बन्धमा ८ बुँदे आग्रह पत्र पेश गर्नुभएको छ ।

गिरीले स्वर्गद्वारी आश्रममा संरक्षित गाईहरूका लागि व्यवस्थित गौशाला नभएकोले धेरै समस्या रहेको भन्दै करीब १ हजार गाई अटाउने व्यवस्थित गौशाला निमार्ण गर्नुपर्ने, दैनिक दर्शनार्थीहरुको चाप बढेसँगै हालको धर्मशालाहरू अपुग र जीर्ण भएकाले करिब १ हजार जनालाई व्यवस्थापन हुने गरी आधुनिक धर्मशालाहरू निर्माण गर्नुपर्ने जस्ता कुरा मागपत्रमा उल्लेख गरिएको छ । आश्रममा अध्ययनरत आवासीय विद्यार्थी (वटुक) हरूका लागि सुविधा सम्पन्न गुरुकुल भवनको अभाव भएकाले त्यसको व्यवस्था र अध्ययनका लागि आधुनिक पुस्तकालय भवन निर्माण गर्नुपर्नेलगायतका माग पनि ओलीसमक्ष राख्नुभएको छ ।

आश्रमको वरिपरि गौचरन तथा अखण्ड यज्ञसञ्चालनका लागि आवश्यक पर्ने दाउराको व्यवस्थापनका लागि आश्रमकै स्वामित्त्वमा रहेको करिब २८ हजार रोपनी जंगल क्षेत्र संरक्षण गरिनुपर्ने, आश्रम आउने बाटो सहज बनाउनुपर्ने, उत्कृष्ट धार्मिक गन्तव्य बनाउन पर्यटनका सम्पूर्ण पूर्वाधारहरू पु¥याउन पहल गर्नुपर्ने, विभिन्न ठाउँमा आश्रमका नाममा रहेका जग्गा सरक्षणका लागि आवश्यक कानुन निर्माण र कार्यान्वयनका लागि पहल गर्नुपर्ने र सबै श्रेष्ता तयार गरी अभिलेखीकरण गर्नुपर्नेलगायतका माग पनि गिरीले गर्नुभएको थियो । 2080.06.28-Kp-oli