शंखधर साख्वाःले सुन भेट्टाएको लखु तीर्थ

आज नवरात्रिको नवौं दिन । आजको दिन नवरात्रि मेला भर्न जाने तीर्थ धार्मिक सांस्कृतिक मात्र नभई ऐतिहासिक रुपले पनि नेपालको एउटा महत्वपूर्ण तीर्थ हो । हाल काठमाडौं महानगरपालिका वडा नं. १५ मा रहेको यो तीर्थ अहिले भने मूल नदीको बीच सडक निर्माण भएकोले छुट्टै पार्क जस्तो बन्न गएको छ ।
केशावती अर्थात बिष्णुमती नदी र सुवर्णवती नदी मिसिने दोभानलाई स्थानीय भाषामा लखु तीर्थ भनिन्छ जसको संस्कृत नाम निधान तीर्थ हो ।
यो तीर्थमा हरियो वर्णका उपलाल नागराजले बास गरिरहेको विश्वास गरिन्छ । यहाँ स्नान गर्नाले दुःखी दरिद्रहरुलाई शान्ति प्राप्त हुने जनविश्वास छ ।
नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः सम्बन्धी कथामा भक्तपुरदेखि आएका दुई जना भरियाहरुले काठमाडौंको नदीबाट वालुवा लिएर गएको, शंखधर साख्वाःले उक्त वालुवा आफूसँग राखेको र चार दिन पछि त्यो वालुवा सुनमा परिणत भएको र त्यही सुनबाट ऋणमा डुबेका जनतालाई ऋणमुक्त गरेको भन्ने वर्णन पाइन्छ ।
कथामा वर्णन गरिए जस्तो सुनमा परिणत भएको वालुवा ती भरियाहरुले यही तीर्थबाट लिएर गएका थिए । शंखधर साख्वाःको घर पनि यही तीर्थ छेउछाउ भएको मानिन्छ ।
यो तीर्थमा मिसिन आउने एउटा नदीको नाम सुवर्णवती हो । यो नदी स्वयम्भू क्षेत्रबाट बगेर आउने गर्दछ । यो नदीमा सुनका कणहरु पनि पाइने भएकोले यसको नाम सुवर्णवती रहन गएको विश्वास गरिन्छ ।
नेपालको पुरातत्व विभागले केही वर्ष अघि मात्रै भारतीय भूगर्भशास्त्रीहरु बोलाएर स्वयम्भू वरिपरि उत्खनन् गरेको थियो । उक्त उत्खनन्ले त्यहाँको चट्टानमा सुनका कण भेटिएको बताइएको थियो । त्यही कारणले पनि सुवर्णवतीमा सुनको कण भेटिएको कुरा विश्वासिलो भएको देखिन्छ । सुन भेटिने तीर्थ भएको कारणले यो तीर्थको नाम ‘लुँखु’ अर्थात सुनको नदी भएको र त्यही ‘लुँखु’ अपभ्रंश हुँदै ‘लखु तीर्थ’ हुन गएको जनश्रुति रहेको छ ।
तर विडम्बना, हाल बिष्णुमतीमा मिसिन आउने उक्त सुवर्णवती भन्ने नदी नै गायब भइसकेको छ । स्वयम्भू क्षेत्रबाट अहिले कुनै पनि नदी बिष्णुमतीमा मिसिन आउँदैन । आजभन्दा ५० वर्ष अघिसम्म सो ठाउँमा एउटा सानो नाला बगेको देखेको बताउने स्थानीयवासीहरु छन् ।
अहिले दोभान नै गायब भइसकेकोले लखु तीर्थमा एक थोपा पनि पानी छैन । अहिले लखु तीर्थको सो ठाउँलाई पार्कको रुपमा विकास गर्ने योजना अघि सारिएको छ ।