पेशागत ज्यावलहरूको पूजा गर्ने दिन

काठमाडौं, ६ कार्तिक । दशैँको आज नवौं दिन । आजको दिनलाई महानवमीका रुपमा मनाउने गरिन्छ । अरु समुदायमा आजको दिन दुर्गा भवानीका विभिन्न मन्दिरमा गई पूजा गर्ने चलन रहेको छ । उपत्यकाका नेवार समुदायमा भने आजको दिनलाई ‘स्याक्वत्याक्व’ का रुपमा मनाउने गरिन्छ ।
नेवार समुदायले आजको दिन आफूले वर्षभरि प्रयोग गर्नुपर्ने विभिन्न औजार एवं ज्यावलहरूको पूजा गर्ने चलन रहेको छ । उपत्यकाको तत्कालीन समाज कृषिमा आधारित भएका कारण कृषि कार्यमा प्रयोग हुने ज्यावलहरू जस्तो कि कुुतो, कोदालो आदिका साथै तरवार, खुकुरी आदि जस्ता हातहतियारलाई पनि आजको दिनमा पूजा गरिन्छ ।
अहिले मानिसहरूले आफ्नो पेशाका क्रममा प्रयोग हुने मेसिनरी साधनहरूको पनि आजैका दिन पूजा गर्न थालेका छन् । खास गरी औद्योगिक कार्यमा प्रयोग हुने कलकारखानका मेसिन, प्रिन्टिङ प्रेस, सवारी साधनहरू, कम्प्युटर आदि जस्ता साधनहरू पनि आज पूजा गरिन्छ ।
आफ्नो पेशागत कार्यमा प्रयोग हुने यी साधनहरूलाई हिजो अष्टमीका दिन आगम कोठामा राखी एक रात ‘स्वनेगु’ अर्थात अनुष्ठान गरिन्छ । तान्त्रिक पूजाविधिले ती साधनहरूलाई एक रात त्यसरी स्वनेगु गरी राख्नुको अर्थ त्यसमा पुनः पहिलेकै जस्तो शक्ति सञ्चार (पावर रिचार्ज) होस् भनेर हो । यो एक अर्थमा आफ्नो पेशागत कार्यमा चाहिने साधनहरूको नियमन (अपडेट) गर्ने कार्य पनि हो ।
ती साधनहरूलाई आज त्यसरी पूजा गरिसकेपछि त्यसलाई विश्वकर्मा पूजाका दिनमा फेरि पूजा गरिरहनु आवश्यक छैन । आफ्नो पेशागत साधनहरूलाई विश्वकर्मा पूजाका दिन पूजा गर्नु भारतीय चलन हो । नेपालको मौलिक चलन भनेको दशैँको नवमीका दिन पूजा गर्नु हो ।