आज हाँडीगाउँमा प्रशिद्ध जात्रा मनाइँदै
काठमाडौं, १२ कार्तिक । दशैं लगत्तै मनाइने काठमाडौं हाँडीगाउँको प्रशिद्ध चोक्टे नारायणको जात्रा आज मनाइँदैछ । तीन वटा नारायणको मूर्तिलाई तीनवटै खटमा राखेर चलाइने भएकोले यो जात्रालाई ‘तीन नारायणको जात्रा’ पनि भन्ने गरिन्छ ।
जात्रा हिजोदेखि शुरु भएको हो । हिजो पूर्णिमाका दिन तीन वटै नारायणलाई खटमा राख्ने कार्य सम्पन्न भएको छ । खटमा विराजमान भइसकेका नारायणलाई आज हाँडीगाउँका विभिन्न ठाउँमा परिक्रमा गराई यो जात्रा चलाउने गरिन्छ ।
यो जात्राका लागि बनाइने खटको बनौट अनौठो खालको छ । यसमा खटको गजुर तलतिर रहेको हुन्छ भने नारायणको मूर्ति गजुरभन्दा माथि विराजमान रहेको हुन्छ । अनौठो खटको जात्रा भएकोले यसलाई नेपालकै मौलिक खटको जात्राका रुपमा लिइन्छ ।
खटको यही मौलिकपनका कारण यसलाई ‘कहीं नभाको जात्रा हाँडीगाउँमा’ पनि भन्ने गरिन्छ । तर हाँडीगाउँका स्थानीय संस्कृतिविद् एवं विज्ञहरू भने यो जात्रालाई ‘कहीं नभाको जात्रा हाँडीगाउँमा’ भन्ने शब्द प्रयोग गरी यसलाई अपमानित गर्न नहुने धारणा राख्ने गर्दछन् ।
यो जात्रा दशैंका अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन शुरु हुन्छ । जात्रा लगातार तीन दिनसम्म सञ्चालन गरिन्छ । यो जात्रा थथुटोलबाट शुरु गरिन्छ । यसमा तीन वटा खट बनाएर जात्रा चलाइन्छ । यो जात्रामा चलाइने तीन खटलाई ब्रम्हा, बिष्णु र महेश्वरको रुपमा पनि लिने गरिन्छ । हिन्दू धर्ममा यी तीन देवतालाई ‘त्रिदेव’ का रुपमा लिइन्छ ।
यी तीन खट मध्ये एउटा खट हाँडीगाउँको कोटाल टोलमा, एउटा न्याल्मा (लामोढुंगा) टोलमा र एउटा भूतेश्वर थतु टोलमा राखिएको हुन्छ ।
यी मध्ये थतु टोलमा रहेको खटलाई ब्रम्हाको खट मानिएको छ । त्यस्तै न्याल्मा टोलको खटलाई बिष्णु र कोटाल टोलको खटलाई महेश्वरको खट मानिन्छ । हिन्दू धर्मका यी तीन देव मध्ये ब्रम्हालाई सृष्टिकर्ता, बिष्णुलाई पालनकर्ता र महेश्वरलाई संहारकर्ता मानिन्छ ।
हाँडीगाउँको जात्रामा निकालिने यी तीन खट मध्ये ब्रम्हालाई पिता, बिष्णुलाई छोरा र महेश्वरलाई माताको रूपमा पनि मान्ने चलन रहेको छ । जात्रा चलाइने यी खटहरू तीन विभिन्न स्थानमा रहेका हुन्छन् ।
स्थानीय संस्कृतिविद् कुलनारायण डंगोलका अनुसार आज अपरान्ह १२ बजेपछि धुमधामपूर्वक जात्रा चलाउने शुरु हुनेछ ।