दशैँमा निस्केका विद्युतीय गाडीहरू चार्जिङ नपाएर घन्टौं रोकिए

काठमाडौं, १३ कार्तिक । नेपालमा विद्युत उत्पादन बढे सँगै विद्युतीय गाडीको व्यापार पनि त्यही गतिमा बढेको थियो । तर यो दशैँमा भने विद्युतीय गाडी लिई लामो दूरीको यात्रामा निस्केका यात्रुहरू चार्जिङ समस्याका कारण ठूलो समस्यामा परेका छन् ।
दशैँ सकाएर काठमाडौं फर्किरहेका धेरै गाडीहरू चितवन र मुग्लिनका चार्जिङ स्टेशनहरूमा घन्टौं रोकिनुपर्दा समस्यामा परेका हुन् । चितवनको चार्जिङ स्टेशनमा एकैचोटी दशौं गाडीहरू चार्जका लागि आएका कारण आफ्नो पालो आउन घन्टौं कुर्नुपरेको हो । कतिपय गाडीहरू चार्जको लागि ७–८ घन्टासम्म कुर्नुपरेको थियो ।
चितवनको चार्जिङ स्टेशनमा चार्ज गर्ने दुई वटा प्वाइन्ट रहेकोमा एउटा बिग्रिएको अवस्थामा थियो । त्यसैले एउटा मात्र प्वाइन्टले चार्ज गर्दा हरेक गाडीले कम्तीमा ४ देखि ५ घन्टासम्म कुर्नुपरेको थियो । जब कि त्यति समयमा चितवनबाट काठमाडौं नै पुग्न सकिन्छ ।
चितवनमा बुटवल, भैरहवा आदि ठाउँबाट आएका विद्युतीय गाडीहरू पनि चार्ज गराउन पालो कुरिरहेका थिए ।
अझ भाडामा चलाएका विद्युतीय गाडीहरू त त्यसरी घन्टौं कुर्नुपर्दा यात्रुहरू ओर्लेर धमाधम अर्को गाडीमा जान थालेपछि आफूलाई घाटा परेको गुनासो पनि चालकहरूले गरेका थिए ।
नेपाल विद्युत प्राधिकरणको लापर्वाहीका कारण यस्तो सास्ती खेप्नु परेको गुनासो विद्युतीय गाडीधनीहरूले गरेका छन् । यदि चार्जिङ स्टेशनको अवस्था यस्तै रहने हो र चार्ज गर्ने सुविधा नपाइने हो भने आफूहरू विद्युतीय गाडी फिर्ता गर्ने मनःस्थितिमा पुगेको गुनासो पनि गाडीधनीहरूले गरेका छन् ।
दशैँमा एकैचोटी धेरै संख्यामा विद्युतीय गाडीहरू उपत्यका बाहिर हिँडेका कारण चार्जिङ स्टेशनमा भिड हुन पुगेको थियो । तर विद्युत प्राधिकरणले भने दशैँमा हुने यो चापलाई ध्यान दिन सकेको पाइएन ।
बाटोमै चार्ज सकिएर मर्कामा परेको विद्युतीय गाडीधनीहरूले अब काठमाडौं फर्केर आफ्नो गाडी कम्पनीलाई यो समस्याबारे अवगत गराउने बताएका छन् । चार्ज सकिएर गाडी रोकिएका कतिपय गाडीधनीहरूले चार्जिङ स्टेशनमै बसेर आफ्नो समस्याबारे टिकटक बनाउँदै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
यदि नेपालमा विद्युतीय गाडीको प्रयोग बढाउने हो भने विद्युत प्राधिकरणले यो समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने माग पीडित गाडीधनीहरूले गरेका छन् ।