नेपालको ‘ग्रेटवाल’ ऐतिहासिक मकवानपुरगढी दरबार घुम्दा…

माेहन बास्ताेला

मकवानपुरगढी, १८ कात्तिक । दर्जनौं पटक काठमाडौंबाट तराईसम्मको यात्रा गरे पनि ऐतिहासिक मकवानपुरगढीको माटो टेक्ने, त्यहाँका किल्ला घुम्ने, तस्बिर खिच्ने रहरहरु अधुरो–अधुरो बन्दै आएका थिए । झापा घर र बारामा रहेको ससुराली गाउँ आउँदा–जादाँ मात्रै होइन विभिन्न कामको सिलसिलामा तराई झर्ने सन्दर्भमा पनि मकवानपुर गढी पुग्ने र त्यहाँ घुम्ने अवसर जुरेको थिएन । मकवानपुर गढी हेटौंडाबाट करीब १७ किलोमिटर पूर्व–उत्तरमा कान्ति लोकपथसँगै अवस्थित छ भन्नेसम्म जानकारी भए पनि ठ्याक्कै कहाँ पर्छ भन्ने चाँहि मेसो मलाई थिएन ।

यो पटकको दसैंमा ममि (आमा) काठमाडौंमै रहनु भएकाले दसैंको टिका थाप्ने काम काठमाडौंमै सम्पन्न भयो । त्यहि दिन काठमाडौं र भक्तपुरमा रहेका आफन्तहरुसँग टिका लगाएपछि एकादशीका दिन ससुराली जाने तयारी भयो ।

कात्तिकको पहिलो हप्ताको काठमाडौं उपत्यकाको मौसम विस्तारै चिसो बन्दै थियो । एकादशीको दिन बिहानै म, श्रीमतीजी र छोरा अनुभव बारासम्मको यात्राका लागि भक्तपुरको बालकोटबाट निस्क्यिौँ । यो पटक स्कुटरमै बारासम्मको यात्रा तय गर्ने आँट लिएर भक्तपुबाट निस्किदैँ गर्दा पनि कान्ति लोकपथको बाटो हुँदै हेटौँडा जाने कि, फर्पिङ–कुलेखानी हुँदै भन्नेमा दोमन नै थियो ।

जब हामी कोटेश्वर, ग्वार्को हुँदै सातदोवाटो पार गरेर चापागाउँ दोबाटो पुगियो । श्रीमतीजीले ‘आ जेसुकै होस्, यो पटक सोधखोज गर्दै भए पनि कान्ति लोकपथको बाटो हुँदै जाऔँं’ भनेपछि म स्कुटरलाई ढोलाहिटीहुँदै कान्ति लोकपथको बाटोतिर मोड्ने मनस्थितिमा पुगिसकेको थिएँ । स्कुटरमा मेरो पछि बसेको छोरा अनुभवले पनि मलाई कान्ति लोकपथको यात्राका लागि थप हौसला बढाइरहेको थियो । उस्को विद्यालयबाट समूहमा केही हप्ता अघि मात्रै त्यहिबाटो हुँदै चापागाउँसम्म हाइकिङ लगेको रहेछ । त्यहि भएर होला छोरा अनुभवले पनि मलाई चापागाउँ दोबाटोबाटै देब्रे मोड्न हौस्यायो । आमा–छोराको बहुमतपछि मलाई बल्खुतिर अघि बढ्ने छुट भएन मैले स्कुटरलाई देब्रे मोडेँ ।

फर्पिङ, दक्षिणकाली, हेटौँडाहुँदै बारासम्मको यात्रा थुप्रै पटक आवत–जावत गरेको भए पनि मलाई कान्ति लोकपथको यात्रा बिल्कुलै नयाँ थियो । एकातिर नयाँ ठाउँको यात्राले मन पुलकित बन्दै थियो भने अर्कोतिर पहिलो पटकको यात्रा भएकाले बाटो कस्तो होला ? दसैंका बेला गाडीको भीडभाड बढी हुने होला कि ! भन्ने जस्ता तर्कनाले केही डर पनि उत्पन्न भैरहेको थियो ।

तर, डरलाई रहरले थिचेपछि हामी सोधखोज गर्दै टीकाभैरव, भट्टेडाँडा, नयाँगाउँ, झाँक्रीडाँडाहुँदै कान्ति लोकपथको यात्रामा मोडियौं ।
बैकल्पिक राजमार्ग भएकाले होला सवारीको चाप दसैंका बेला पनि त्यति धेरै नहुने रहेछ । भीडभाड कम भएकाले पनि यात्रा केही सहज भैरहेको थियो । कतै फराकिला सडकले यात्रालाई थप सहज बनाइरहेका थिए भने कतैचाँहि कालोपत्रे भत्किएर कच्ची बनेको सडक र खाल्टाखुल्टीले शरीका सबै अङ्ग थर्काएर लखतरान बनाइरहेको थियो ।

कतै धुलाम्मे सडकको धुलोले शरीर सोताम्य बनाउन्थ्यो भने कतै निलो आकाश र थोप्लाथोप्ला बादल छुन आँटेका हरिया पहाडले यात्रालाई मोहक बनाइ दिन्थे । कतैकतै त तिहारको स्वागतमा गाउँभरी ढकमक्क फूलिरहेका सयपत्री, मखमलीहरुले यात्रालाई निकै रोमाञ्चक बनाइरहेका थिए । कतै नागबेली उकालो त कतै नागबेली ओरालो अनि कतै छङछङ बगिरहेका झरनासँग लुकामारी गर्दै हामी काल्चेभीर, ठिंगन हुँदै अघि बढिरहेका थियौँ । करीब चार घण्टाको रोमाञ्चक यात्रामा काल्चेभीर, ठिंगन हुँदै मकवानपुर गढी गाउँपालिका–२ पुग्यौँ ।

छोरो अनुभवले बाटोको दाहिनेतर्फ मकवानपुर गढी दरबार जाने बाटो भनेर देखाइएको संकेत रेखालाई देखाउँदै ‘बाबा मकवानपुरगढी दरबार जाने बाटो रहेछ’ भनेपछि मैले स्कुटर त्यहि रोकेँ । अकस्मात् मकवानपुरगढी दरबार आइपुग्दा झल्यास्स भएँ । मैले पुग्ने रहर गरेको तर अहिलेसम्म पुग्न नपाएको ऐतिहासिक मकवानपुरगढी दरबार क्षेत्र परिसरमा हामी पुगिसकेका रहेछौँ । हालको बागमती प्रदेशको राजधानी हेटौंडाबाट १७ किलोमिटर पूर्व–उत्तरमा कान्तिपथसँगै मकवानपुरगढी दरबार छ भन्नेसम्म जानकारी भए पनि पहिलो पटक अप्रत्याशित रुपमा त्यहाँ पुग्दा र त्यहाँको माटोमा पाइला टेक्दा पुलकित भएँ ।

एकैछिन दाहिनेतर्फ स्कुटर मोडेर अलिकति उकालो लागेपछि डिजिटल वोर्डमा ‘ऐतिहासिक मकवानपुरगढी दरबारमा तपाईँहरुलाई स्वागत छ’ भनेर लेखिएको सूचना रहेछ । स्कुटरलाई त्यही नजिकैको पार्किङमा छाडेर हामी उकालो लाग्यौँ ।

 

सेनं वंशका अन्तिम राजा दिग्वन्धन सेनलाई पराजित गरी पृथ्वीनारायण शाहले विं.सं. १८१९ भदौ ९ गते करीब आठ घण्टाको अथक लडाईंपछि मकवानपुरगढीमा विजयी प्राप्त गरेको, पृथ्वीनाराण शाहले सेन वंशको अन्त्य गरेपछि दिग्वन्धनको सहयोगार्थ गुरगिन खाँको नेतृत्वमा आएका करीब २५ सय मुगल सेनाका फौजलाई गोर्खाली सेनाले विं.सं. १८१९ माघ १० गते परास्त गरेको जस्ता गौरवपूर्ण इतिहासको साक्षी बनेको मकवानपुरगढी दरबार पहिलो पटक टेक्ने, अवलोकन गर्ने र केही अध्ययन गर्ने अवसर एकै पटक प्राप्त गर्दा उत्साहित बनेको मन गढी दरबार पुग्न नाक ठोकिने उकालो उक्लिदाँ पनि उर्जाले भरिएको थियो ।

अलिक मोटो ज्यानकी श्रीमती पनि स्याँस्याँफ्याँफ्याँ गर्दै मनभरी मकवानपुरगढी हेर्ने धोको बोकेर उक्लिरहेकी थिइन भने खिरिलो ज्यानको छोरा अनुभव हामी भन्दा निकै अघि पुगेर हामीलाई जिस्क्याइरहेको थियो ।

समुन्द्री सतहदेखि १०१७ मिटरको उचाईको पहाडी थुम्कोमा अवस्थित मकवानपुरगढी दरबार पुग्नु भन्दा केही अघि सल्लाका रुखहरुको नजिकै र सिँढीको दाहिनेतर्फ सेन वंशीय राजाको सेतो हात्तीको प्रतिमा राखिएको रहेछ । त्यहाँ पुग्ने जो–कोहीले त्यो प्रतिमामा तस्बिर खिच्ने रहेछन् । मैले पनि छोरासँग पालैपालो त्यो प्रतिमामा तस्बिर खिचेँ । छोरो पनि निकै खुशी भयो ।

करिब १ सय ३५ रोपनी क्षेत्रफलमा फैलिएको सेन वंशकोे ऐतिहासिक बिरासतको जीवन्त इतिहास बोकेको मकवानपुरगढी दरबार छिर्नु अघि मकवानपुर गढी र नेपाली सेनाको सम्वन्धबारेमा लेखिएको सूचनाबोर्डमा ध्यान केन्द्रित भयो । त्यहाँ मकवानपुर गढी नेपालको सबैभन्दा ठूलो गढी भएको र पुरातात्विक र ऐतिहासिक हिसावले पनि अत्यन्त महत्वपूर्ण मानिने उल्लेख गरिएको रहेछ ।

राजनीतिक, सामाजिक, आर्थिक तथा सैनिक शक्तिमा अन्य राज्यहरु भन्दा शक्तिशाली रहेको मकवानपुर राज्यलाई नेपालको एकीकरणको दौरानमा उपत्यकाका तीन राज्यहरु (कान्तिपुर, पाटन र भादगाउँ) माथि आक्रमण गरी विजयी हासिल गर्नका लागि पनि उक्त राज्य कब्जा गर्नैपर्ने रणनीतिक महत्व रहेका कारण पनि पृथ्वीनारायण शाहले विभिन्न योजनासहित निकै ठूलो प्रयासमा सो राज्य कब्जा गरेको इतिहास त्यहाँ उल्लेख गरिएको रहेछ ।

एकीकरण अभियानका दौरानमा रहेका पृथ्वीनारायण शाहले मकवानपुर जस्तो शाक्तिशाली राज्य कब्जा गर्न मकवानपुर राज्यकी राजकुमारी इन्द्रकुमारी देवीसँग विवाह गरी दिग्बन्धन सेनसँग ज्वाई–जेठानको नाता जोडी त्यहाँको सबै अवस्था बुझी कब्जा गरेको इतिहास त्यहाँ उल्लेख रहेछ । त्यसपछि दिगबन्धन सेन आफ्ना बाँकी सेना लिएर करीब ४० किलोमिटर टाढा रहेको हरिहरपुर गढीतर्फ गएका रहेछन् ।

 

सेन वंशको अन्त्य भए पनि अहिलेसम्म पनि उन्नत वास्तुकलाको प्रतिरूप बनेर मकवानपुरगढी दरबारका पुरातात्विक दृष्टिले महत्वपूर्ण प्राचिन अवशेष जीवन्त बनेर बसेका रहेछन् ।
हामी एकीकरण विजय पार्क हुँदै विशाल ढोकाबाट मकवानपुरगढी दरबार छिर्दै गर्दा गढीको सुरक्षाका लागि चारै किल्लामा करिब २५ फिट अग्ला र करीब ४ फिट चौडाइका पर्खाल अनि पर्खाल वरपर करीब १० फिट गहिरा खाडलहरुहरुतिर मेरो ध्यान केन्द्रित भयो । तत्कालीन समयको सामरिक महत्व अनि सुरक्षाका लागि त्यतिबेला अपनाइएका दूरदर्शिता झल्काउने जीवन्त अवशेषका ती प्रमाणहरुले मलाई फेरि एक पटक मोहित बनायो ।

भग्नावशेष रुपमा रहेको गढीमा राजपरिवार बस्ने दरबार ‘जुँगे दरबार’ गुरगिन खाँको नेतृत्वमा आएका वंगालका नवाव मिरकासिमका मुगल सेनासँग अन्तिम युद्धमा गोरखाली सेनाले विजय प्राप्त गरेको सम्झनामा निर्माण गरिएको एकीकरण विजय पार्क, इतिहासमा उल्लेख भए अनुसार वि.सं. १६२२ सालमा सेन वंशीय राजाको शासनकालमा निर्माण भएको र अहिले भग्नावशेष रहेको गढी दरबार सबैले सेन वंशको इतिहासलाई जीवन्त बनाएका रहेछन् ।

इतिहास अनुसार मकवानपुरगढीमा सेन वंशका प्रथम राजा मुकुन्द सेनदेखि अन्तिम राजा दिग्बन्धन सेनसम्मका ७ पुस्ताले शासन संचालन गरेको इतिहास रहेछ । इतिहास अनुसार खाम सेनका पनाती मुकुन्द सेन सेन वंशका पहिलो राजा हुन् । मुकुन्द सेनले राज्य बाँडफाँड गर्दा कान्छा छोरा लुवाङ सेनलाई मकवानपुर दिएको र लुवाङ सेनले वि.सं. १६२२ तिर गढीको पुनर्निर्माण गरी मकवानपुर राज्यको पुनर्निर्माण र विस्तार गरेको इतिहास भेटिन्छ । लुवाङले वि.सं. १६२२ तिर पुनर्निमाण गरेको र सेन वंशका राजाहरूले १९७ वर्षसम्म आफ्नो राजधानी बनाएको मकवानपुरगढी दरबारमा करीब ४ सय ५८ वर्षपछि हामी पुग्दा त्यहाँ ती दरबारका भग्नावशेष अझै जीवन्न बनेर उँभिएका थिए भने कतै आपका रुख त कतै सयपत्री फूल ढकमक्क फुलिरहेका देखिन्थे ।

हामी विशाल ढोका छिरेर मकवानपुरगढी परिसर पुग्दा वंशी गोपालको मन्दिर, कालिका मन्दिर, सिद्धेश्वर महादेव मन्दिर अनि गुम्बा तथा स्तूप जस्ता धार्मिकस्थलहरू पाइलेपिच्छे भेटिए । सेन वंशी राजाहरु धर्मिक आस्थाका थिए भन्ने ती जीवन्त प्रमाण थिए । वंशीगोपालको मंगोलियन मुखाकृति भएको मूर्ति समेत दरबार परिसरमा राखिएको रहेछ ।

पहिलो पटक मकवानपुरगढी पुगेको मलाई ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक हिसावले पनि त्यो स्थान महत्वपूर्ण रहेको अनुभूति भयो ।
मकवानपुर गढी दरबार घुम्दै गर्दा मलाई त्यहाँ प्रयोग गरिएका विशाल शिलाहरू, इट्टाहरु कति मेहनतका साथ त्यहाँ पुर्याएर यस्तो विशाल दरबार निर्माण भयो भन्ने कुतुहल बाढी बनेर आयो । चीनका केही प्रान्तहरु घुमे पनि अहिलेसम्म चीनको ‘ग्रेटवाल’ घुम्ने अवसर प्राप्त नगरेको र ‘ग्रेटवाल’ बारे सुनेको मलाई गढीमा प्रयोग गरिएका ढुंगा, इँटालगायतका वस्तुहरूले ‘ग्रेटवाल’को झल्को दिएको अनुभूति भयो ।

दरबार परिसरभित्र ठूलो खाडल रहेछ । केही हप्ता अघि मात्रै इजरायल–प्यालेस्टाइन द्वन्द्वका समाचार प्रसस्त सुनेको छोरो अनुभवले त्यहि खाडलतिर देखाउँदै ‘बाबा ! यो त बंकर जस्तो छ, पहिला–पहिलाका राजाहरुले पनि युद्ध लड्न बंकर बनाउने रहेछन है’ भन्यो । छोरो अनुभवले भने जस्तै जनविश्वास अनुसार त्यो खाडल सेन वंशका राजाले अपराधीलाई अपराधको प्रकृति हेरेर खाडलमा हालेर दण्ड दिन बनाएको भन्ने रहेको रहेछ । केहीले भने सो खाडल सेन वंशहरुले पानी भण्डारणका लागि बनाएको बताउने गरेका रहेछन् ।

२०७५ साल माघ १० गते २५६ औँ विजय उत्सव मनाउन तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी मकवानपुरगढी दरबार पुग्नु भएको रहेछ । उहाँले त्यसैबेला विजयोत्सवको अवसरमा ऐतिहासिक गढीभित्र निर्माण गरिएको सात प्रदेश अंकित नेपालको नक्सा अनावरण र झण्डोत्तलन गर्नुभएको रहेछ । हामी त्यहाँ पुग्दा सात प्रदेश अंकित नेपालको नक्सामाथि नेपालको राष्ट्रिय झण्डा शान बनेर फहराइरहेको थियो । हामीले झण्डालाई पृष्ठभूमिमा राखेर केही तस्बिरहरु खिच्यौँ ।

मकवानपुरगढीको भग्नावशेष पर्खालबाट देखिने सुकौरा, आमभञ्याङ, हर्नामाडी, पदमपोखरी, हेटौंडा उपमहानगरपालिका र बारा जिल्लाका केही स्थानहरूको मनमोहक दृश्यावलोकनले हामीलाई थप मोहित बनयो । करीब तीन घण्टा जति हामी त्यहाँ घुमफिर गर्दा घाँम पश्चिमतर्फ ओरालो झर्दै थिए हामी पनि गढीदरबारको ओरालो सिँढी झर्दै मकवानपुरहुँदै बारासम्मको यात्राका लागि अघि बढ्यौं ।