मेची–महाकाली अभियानको ६ वर्षपछि एमालेले मंसिर १४ बाट मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने
काठमाडौं, २२ कात्तिक । नेकपा (एमाले)को सचिवालय बैठक सम्पन्न भएको छ । एमाले मुख्यालय च्यासलमा बसेको बैठकले यहि मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको सुरुवात गर्ने निर्णय गरेको छ । ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएको अभियानको सुरूवात बैतडीको झुलाघाटनमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर सुरुवात गर्नुहुने छ ।
सामाजिक सद्भाव र एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकताको आधार निर्माण गर्ने उदेश्य अभियानको रहेको एमालेले जानकारी दिएको छ । अभियानले पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टी ७५ औं वर्षमा पुगिरहँदा यो बीचमा के काम गर्यौं भन्ने सन्देशसँगै यो देशलाई हामीले नै राम्रो बनाउन सकिन्छ भन्ने सन्देश पनि दिने उदेश्यले अभियानको थालनी गर्न लागेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
नेकपा (एमाले)ले यस अघि मेची–महाकाली अभियान सञ्चालन गरेको थियो । झापाको काँकडभिट्टाबाट सुरु गरको उक्त अभियानको पनि तत्कालिन अध्यक्ष ओलीले नै विशेष समारोहका बीच आरम्भ गर्नुभएको थियो ।
पञ्चायती व्यवस्थाका विरुद्ध लड्दालड्दै २०२९ फागुन २१ गते राति जेल सार्ने नाममा सुखानीको जंगलमा लगी हत्या गरिएका पाँच सहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठको सम्झनामा पार्टीले मनाउँदै आएको सहिद दिवसको अवसर पारी २०७३ साल फागुन २१ गते आरम्भ गरेको थियो । उक्त १५ दिने अभियान ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमानः राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने मूल नाराका साथ सुरू भएको छ।