तिहार विशेष

तिहारका लागि पाला बनाउन व्यस्त भक्तपुरका प्रजापति समूदाय (भिडियो रिपोर्ट)

काठमाडौं, २४  कात्तिक । मध्यपुर ठिमीमा रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको आडमै रहेको प्रजापति सेरामिक पुग्दा श्यामलाल प्रजापति असिन–पसिन हुँदै माटोसँग खेलिरहनु भएको थियो । कात्तिक अन्तिमअन्तिम तिरको मधुरो घाममा उहाँ घरी काँचो माटोका भाँडा खर्पनमा बोकेर कोरिया मैत्री नगरपालिका अस्पतालको पछाडि रहेको भट्टीमा पोल्न जानुहुन्थ्यो भने घरी त्यहि भट्टीमा पोलेका माटाका भाँडा खर्पनमा वोकेर फर्किनुहुन्थ्यो ।

झण्डै जीवनका ६० वर्ष निरन्तर माटामा कलाकृति भर्न चक्र घुमाउनु भएका ७८ को वयका श्यामलालका पिता पूर्णकृष्ण प्रजापति पनि त्यहि मधुरो घाममा माटाका भाँडाहरु ओल्टाई–पल्टाइ गर्नमा व्यस्त हुनुहुन्थ्यो ।

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिक–नजिक आउँदै गर्दा अरु बेलाको भन्दा प्रजापतिको कामको रफ्तार निकै बढेको रहेछ । अरुबेला माटाका विभिन्न प्रकार बनाउन व्यस्त प्रजापति अहिले पाला बनाउने हतारोमा हुनुहुँदो रहेछ ।

बिहानैदेखि पाला बनाएर थकित बन्नु भएका प्रजापति पालासँगै गमला र अन्य भाँडाकुँडा भट्टीमा पोल्ने हतारोमा हुनुहुँदो रहेछ । त्यताको काम हतार–हतार फत्ते गरेपछि उहाँ फेरि चक्र घुमाउन छाप्रो भित्र छिर्नुभयो । अध्यारो छाप्रोमा विजुलीको उज्यालो बालेर चक्र घुमाइ रहनु भएका प्रजापतिलाई छोरो गौरवले कजेल छुट्टिको अवसर पारेर सहयोग गरिरहनु भएको रहेछ ।

बुबा श्यामकृष्णको छेउमा टुसुक्क बसेर चक्र घुमाई रहनु भएका गौरवलाई श्यामकृष्णले केहीबेर हात समातेर पालाको आकार तिखार्न सिकाउनुभयो । मानिसको जीवनचक्र जस्तै गौरवको खुट्टाको लयमा आधुनिक विजुलीको साहारामा चक्र घुमिरहेको थियो भने गौरवचाहिँ त्यहि चक्रको लयमा परम्परागत दियो कुँदिरहनु भएको थियो । चक्रको लयसँगै पुख्र्यौली पेशामा बुबालाई सघाउँदा गौरवको मुहारमा तिहारका बेला पालामा तेल हालेर बलेको दियो जस्तो उज्यालो छाइरहेको थियो ।

भर्खरै ओठमाथि जुघाँका रेखी बसेका गौरवले नेवारी लवजमा पुख्र्यौली पेशा आफ्नो रगत–रगतमा बगिरहेको भन्दै कला, संस्कृति, परम्पराको पुस्तान्तरण हुनुपर्ने दलिल पेश गर्नुभयो । पुख्र्यौली पेशा, व्यवसायलाई नयाँ पुस्ताले काँध नथाप्ने हो भने लोप भएर जाने भन्दै गौरवले पुख्र्यौली पेशाको गौरवगाथा पनि गाउनुभयो ।

तिहारको प्रमुख विशेषतामध्ये एक हो दिपावली अर्थात् दीपमालाको झिलिमिली । पछिल्लो समय आधुनिकतासँगै विद्युतीय बत्तीको प्रयोग नबढेको होइन तर अहिले पनि माटोको दियो बाल्ने परम्परागत चलनलाई भने विद्युतीय बत्तीले विस्थापन गर्न सकेको छैन ।

तिहारका बेला भक्तपुरका र त्यसमा पनि मुख्यगरेर प्रजापति समुदायले अँगालिरहेको परम्परागत दियो बनाउने पेशाको भ्याइनभ्याई त्यसको एउटा जीवन्त प्रमाण पनि हो । तिहारले छपक्क छोप्न थालेपछि बजारमा पालाको माग पनि उत्तिकै बढ्दै जान्छ अनि कामको हतारो पनि त्यहि रफ्तारमा बढ्दै जान्छ । पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउने हतारोको विचमा पनि श्यामलाल हामीसँगै केहीबेर आफ्नो पुख्र्यौली पेशाप्रति यसरी गर्वका साथ खुल्नुभयो ।

श्यामलाल र गौरव मात्रै होइन तिहारको आगमनसँगै पालाको माग बढेपछि भक्तपुरका विभिन्न स्थानका प्रजापति समुदाय माटाका अन्य भाँडा बनाउन छाडेर अहिले धमाधम पाला बनाउँन व्यस्त बनेका छन् ।

मैत्रीन्युजको टीम मध्यपुरबाट भक्तपुरको पोटरी स्क्वायर पुग्दा मधुरो घाँममा सेतै कपाल फुलेकी करीब ७५ को वयकी स्थानीय आमा र उही उमेरको हाराहारीका स्थानीय बुबा टाकाटोपीमा धुपौरो र पालाहरु सुकाउन व्यस्त हुनुहुन्थ्यो ।

पर्यटकहरुको बढी चहलपहल हुने पोटरी स्क्वायर समेत अहिले पालामय भएको रहेछ । त्यहाँ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकहरु समेत टुसुक्क चक्रका अघिल्लतिर बसेर पाला बनाउन सिक्दै गरेका र पाला बनाएपछि देखिएको खुशी दियो जत्तिकै चम्किलो देखिने रहेछ । घुम्नका लागि भनेरै पोटरी स्क्वायर आउनु भएकी चितवनकी कृती सिलवालले कहीबेर माटाका भाँडाकुँडा बनाउँदै आउनु भएका स्थायी प्रजापतिको साहारामा चक्र घुमाएर एउटा पाला बनाउनुभयो ।

एउटा पाला बनाएको रु १ सय ५० तिर्नुभएकी कृतिको मुहारमा पैसा तिरेको कुनै गुनासो देखिदैँनथ्यो बरु तिहारका बेला आफ्नै हातले पाला बनाउँदाको खुशी नाम जस्तै पाला बनाउँन आफू निपूण भएको जस्तो भागभङ्गी देखिन्थ्यो । सुरुमा त बोल्न अलिक लजाएकी कृती तिहारका बेला आफ्नै हातले पाला बनाउँन पाउँदा यसरी खुल्नुभयो ।
हामी कृतीसँग कुराकानी गर्दै गर्दा पोटरी स्क्वायरमा लहरै चक्रहरु घुमिरहेका थिए । ती लहरै घुमिरहेका चक्रहरुले पूस्तौदेखि माटोको काम गर्दै आएका प्रजापति समूदायका जीवनमा पर्ने सुखदुःखका आरोह–अवरोहहरुलाई कहिले माटाका भाँडाका सुन्दर कलाकृति जस्तै सुन्दर बनाएर त कहिले रित्तै घुमाइरहे होलान् भन्ने कूतुहल मनमा खेलिरहे ।

पर्यटकहरुको समेत घुँइचो लाग्ने पोटरी स्क्वायरको घाम मधुरो बन्दै थियो । अनि अरुबेला गमला, धुपौरो, खुत्रुकेलगायत विभिन्न पर्यटकीय सामग्रीले खचाखच हुने पोटरी स्क्वायरका भुँईहरु पालाले भरिभराउ देखिन्थे । जताततै पालामय बनेका भक्तपुरका भुईँहरुले तिहारको स्वागत गरेको अनुभूति हुन्थ्यो । माटोको काम गर्ने प्रजापति समूदाय पनि अरु कामलाई थाँती राखेर पाला बनाउने काममा व्यस्त भएको देखिन्थे । पोटरी स्क्वायरमा रहेका तीन–चार ओटा भट्टीहरु पनि भरिभराउ देखिन्थे । त्यति मात्रै होइन, भट्टीमा आगो ठेलिरहेका त कोही भट्टीमा गमलभित्र पाला हालेर पाला पोलिरेका दृष्यहरुले पनि तिहार नजिकै आएको अनूभूति हुन्थ्यो ।

पोटरी स्क्वायरबाट अलिकति गल्ली छिरेर भित्र पुग्दा गणेश प्रजापति पनि आफ्नै लयमा चक्र घुमाएर पाला बनाउन व्यस्त हुनुहुन्थ्यो । विनोदको पनि पछिल्लो केही दिनदेखिको दैनिकी श्यामकृष्णको जस्तै पाला बनाउने हतारोमा व्यथित हुन थालेको रहेछ ।

पालाका लागि माटो तयार गर्ने, पाला बनाउने, सुकाउने अनि सुकिसकेको पालालाई भट्टीमा पोल्ने र माग अनुसार बजार पठाउने काममा व्यस्त रहेको गणेशले जानकारी दिनुभयो । दैनिक हजार भन्दा बढी पाला उत्पादन गर्ने गरेको बताउनु हुने गणेशले माग अनुसार त्यो भन्दा बढी पनि उत्पादन गर्दै आएको जानकारी दिनुभयो । आधुनिककताका नाममा विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीतिर केही मानिसहरु आकर्षित भए पनि त्यसको दाँजोमा सुरक्षित तथा धार्मिक एवं सांस्कृतिक दृष्टिकोणले पाला उत्तम र पवित्र मानिने भएकाले बजारमा यसको माग बढेको परम्परागत पाला बनाउँदै आएका प्रजापति समूदायको भनाई छ ।

गणेश जस्तै विनोद प्रजापतिलाई पनि अहिले पाला बनाउने हतारो विचित्रको रहेछ । यद्यपि, उहाँ घुम्न आउने पर्यटकलाई पालालगायतका सामाग्री बनाउन असल प्रशिक्षक जस्तै खटिनु हुँदोरहेछ । हामीले हेर्दाहेदै कलंकीबाट आएका एकहुल युवतीहरुले चक्र घुमाएर पाला बनाए । धनकी देवी लक्ष्मीको पूजा–आजा गर्ने पर्व हो तिहार । त्यसैले तिहारमा फलफूल, सयपत्री फूलसँगै दीपमालाले घर, कार्यालय सबैतिर झिलिमिली पार्ने चलन छ । घर, कार्यालयमा दीपमालाले झिलिमिली बनाएर धनकी देवी लक्ष्मीलाई घरमा भित्र्याउने परम्परा अनुसार तिहारमा झिलिमिली बत्ती बाल्ने चलन छ ।

यहि चलनलाई जीवन्न राख्न बर्षौदेखि चक्र घुमाउँदै उत्पादन भएका भक्तपुरका पाला कति त्यहिँबाट विक्री हुने रहेछन् भने अधिकांशचाँहि थोक व्यापारीलाई बिक्री गर्ने गरिँदो रहेछ । भक्तपुरमा उत्पादन गरेका पाला उपत्यकालगायत काभ्रेको बनेपा, धुलिखेल, पनौती, धादिङ, नुवाकोट, पोखरा, चितवन, हेटौँडा, त्रिशूलीलगायतका बजारमा समेत बिक्री हुने गरेको पाला उत्पादन गर्ने व्यवसायीहरुको भनाई छ । पाला पाला मात्रै होइन यो हाम्रो संस्कृति र परम्परा पनि हो ।

माटोसँग खेलेर उत्पादन गरेको यी स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्न राज्य र स्थानीय सरकारको पनि ध्यान जान जरुरी छ । यसो भयो भने वर्षेनी तिहारको अवसरमा नेपाल भित्रिनै अर्वौका झिलिमिलीहरु निरुत्साहित हुनेछन् र स्वदेशी उत्पादनसँगै स्वदेशमै रोजगारीका अवसरहरु पनि थपिदैँ जाने निश्चित छ । दीपमालाको झिलिमिली तिहारको शुभकामनासँगै माटोसँग खेलेर संस्कृति बचाइरहेका हातहरुलाई पनि सलाम ।