हत्यारालाई सर्वोच्ले उन्मुक्ति दिएको भन्दै अनेरास्ववियु आन्दोलित,न्यायाधीशविरुद्ध भण्डाफोरको चेतावनी

काठमाडौं २० पुस । चेतन ऐडी हत्या प्रकरणमा राजनीतिक पहुँच हाबी भएको भन्दै अनेरास्ववियुले त्यसको कढा रुपमा विरोध गरेको छ । जिल्ला अदालत बाजुरा र उच्च अदालत दिपायलले गरेको फैसला सर्वोच्च अदालतले उल्टाएपछि अनेरास्ववियुले त्यसको कढा रुपमा विरोध जनाएको हो ।
अनेरास्ववियुले क्रुर हत्याबाट प्रताडित परिवारले मागिरहेको न्यायलाई सर्वोच्च अदालतको कोठामा न्याय मुर्तिहरु ठानिएकाहरुबाट न्यायको घाँटी निमोठिएका कारण न्याय माग्न सडकमा ओर्लिनु परेको अनेरास्ववियुको भनाई छ ।
बाजुरामा बीभत्स हत्या गरिएका चेतन एडीलाई न्याय न दिलाएसम्म आन्दोलन जारी राख्ने अनेरास्ववियुले जनाएको छ । आज काठमाडौँमा प्रदर्शन गर्दै अनेरास्ववियुले कानूनमन्त्री धनराज गुरुङले सर्वोच्च अदालतका न्यायाधीशलाई फोन गरेर दोषीलाई उन्मुक्ति दिएको आरोप लगायो ।
‘सर्वोच्च अदालतमा पूर्व महान्यायाधिवक्ता सेटिङ गर्नु भयो । फैसलाको दिन वर्तमान कानूनमन्त्रीले त्यहाँको न्यायाधीशलाई फोन गर्नु भयो उहाँको फोनको माध्यमबाट कैद सजाय भुक्तान गरिरहेको अपराधीहरुलाई छुटाउने निर्णय गरेको छ’, अनेरास्ववियुका महासचिव नरेश रोकायाले भन्नुभयो, ‘फैसलामा पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खातीले पनि सेटिङ गरेको आशंका छ । न्यायको हत्या भएको छ । न्याय नपाउन्जेल हामी आन्दोलन जारी राख्छौँ ।’
प्रकाशमान सिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले दुई तहका अदालतको फैसला उल्टाउँदै हत्यामा दोषी ठहर भएकाहरुलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि अनेरास्ववियु आन्दोलित बनेको हो ।
गत मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा घरबाटै झिकेर बीभत्स हत्या गरिएका अनेरास्ववियु केन्द्रीय सदस्य चेतन अयडीको हत्या आरोपमा पक्राउ परेका ६ जनालाई साधारण तारेखमा छाड्न आदेश दिइएको हो ।
राउत र मुसलमानको इजलासले जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंह बहादुर अयडीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । जिल्ला र उच्च अदालतले छोड्न मिल्दैन भनेकाहरुलाई सेटिङमा दोषीहरूलाई उन्मुक्ति दिने न्यायाधीशविरुद्ध भण्डाफोर गर्ने पनि अनेरास्ववियुले चेतावनी दिएको छ ।