वसन्तपुर घुम्न आएका विदेशी पर्यटकको नजरमा नेपाल र नेपाली (भिडियो रिपोर्ट)

काठमाडौं, २४ पुस । काठमाडौं उपत्यकाका अधिकांश स्थलहरु कला, संस्कृति र सम्पदाले धनी छन् । हो, त्यसैले स्वदेशी मात्रै होइन विदेशी पर्यटकहरु पनि यी स्थानहरुमा घुमफिरका लागि मरिहत्ते गर्ने गर्छन् । नेपालका सुन्दर पर्यटकीय स्थलहरुको धित मरुन्जेल घुमफिर गरेका विदेशी पर्यटकहरु त अझ उपत्यकाका धेरै स्थानहरुमा फर्किफर्कि आउने गर्छन् । काठमाडौं उपत्यका भित्र मात्रै आधा दर्जन क्षेत्रहरु त विश्व सम्पदासूचिमा सूचिकृत रहेका छन् ।

काठमाडौं महानगरपालिका भित्र मात्रै स्वयम्भू, बौद्ध, पशुपतिनाथ र हनुमानढोका दरबार क्षेत्र गरी चार ओटा विश्व सम्पदासूचिमा सूचिकृत स्थान रहेका छन् भने ललितपुर र भक्तपुरमा पनि विश्व सम्पदासूचिमा सूचिकृत स्थान रहेका छन् । हामी केही दिन अघि मात्रै विश्व सम्पदासूचिमा सूचिकृत स्थान हनुमानढोका दरबार क्षेत्र पुग्दा स्वदेशी मात्रै होइन विदेशी पर्यटकहरु पनि रमाइरहेको भेटियो ।

हजारौ प्रकृतिका चाड पर्व, जातजाति, रीतिरिवाज र चालचलनको विविधतासँग पनि जोडिएको हनुमानढोका कला र संस्कृतिका जीवन्त इतिहास तथा प्राचिन विशिष्ट शैलीको अनुपम निर्माण शैलीहरुले पनि यो ठाउँ विश्वकै दर्शनीय स्थलहरु मध्येको एक बनेर उँभिएको छ । हो, यहि स्थलमा हामीले केही विदेशी पर्यटकहरुसँग कुराकानी गर्ने प्रयास गरेका छौँ ।

हामी बसन्तपुर पुग्दा बेलायतबाट एक हप्ते कार्यशालाका लागि नेपाल आएका एनड्रियु र क्याथीसँग भेट भयो । भूकम्पपछि करीब तीन वर्ष नेपालीहरुसँग यहि विषयमा अनलाइन मार्फत काम गरेका दुबै जना पहिलो पटक नेपाल आएका रहेछन् । पहिलो पटक नेपाल आएर यसरी बसन्तपुर घुम्दा उनीहरुको मुहारमा निकै खुशी खाएको देखिन्थ्यो ।

पहिलो पटक नेपाल आएका उनीहरुसँग हामीले कुराकानी गर्दा नेपालको स्वागत गर्ने शैलीबाट निकै प्रभावित भएको उनीहरुले बताए । हामीले एनड्रियु र क्याथीसँग केही कुराकानी गरेपछि श्याम र याडम पनि त्यहि बसन्तपुरमा घाम तापेर बसिरहेका थिए । हामी उनीहरु भए ठाउँमा पुग्दा केहीबेर त अलिक लजाए जस्तो गरे । उनीहरु नेपाल दोस्रो पटक आएका रहेछन् । साथीको विहेको निम्तो मान्न नेपाल आएका उनीहरुलाई पनि नेपाल खुव मन पर्ने रहेछ । यहाँको संस्कृति, पर्यटन र हावापानीले उनीहरुलाई गज्जबले तानेको रहेछ । उनीहरु पनि हामीसँग नेपालबारे यसरी खुले । उनीहरुलाई नेपालीको घुुलमिल हुने र हँसिलो शैलीले निक्कै गज्जबले तानेको रहेछ ।

श्याम र याडमसँग कुराकानी गरेपछि हामीले बसन्तपुरमै भेटिएका टासीसँग कुराकानी गर्यौ । उनीचाँहि कोरियाबाट १० जनाको टोलीसहित आएका रहेछन् । नेपालका विभिन्न स्थानहरुको भ्रमणपछि काठमाडौं आएका उनी पनि बसन्तपुर पुग्दा निकै पुलकित देखिन्थे । उनले नेपालका अधिकांश ठाउँबारे जानकारी लिएका रहेछन् । उनलाई काठमाडौंँको कला, संस्कृति र सम्पदाले निकै तान्ने रहेछ । बसन्तपुरबारे पनि उनलाई धेरै जानकारी रहेछ । उनी पनि नेपालबारे यसरी खुले ।

विदेशी पर्यटकहरुसँग केही कुराकानी गरेपछि हामीलाई पनि यहाँको महत्ववारे नेपाल र नेपालीलाई मात्रै होइन विश्वलाई पनि जानकारी रहेछ भन्ने कुराले खुशी बनायो । हनुमानढोका मात्रै होइन नेपालमा यस्ता हजारौँ स्थलहरु छन् ।

ती ठाउँहरुमा हामीले विदेशी पर्यटकहरुलाई आकर्षित गर्न सक्ने हो भने नेपाल विश्वका सामू थप परिचित बन्ने मात्रै होइन यहाँका कला, सम्पदा र संस्कृतिको भ्रमण गराएर राष्ट्रले ठूलो आम्दानी समेत गर्न सक्ने देखिन्छ । यसका लागि सरकारले पनि थप योजनासहित अघि बढ्नुपर्छ कि ? भन्ने कुतुहल मनभरी खेलाउँदै हामी बसन्तपुरबाट फर्कियौँ ।