व्यवस्थित गर्न सके युट्युबले समग्र पत्रकारितालाई अगुवाइ गर्न सक्छः काउन्सिल अध्यक्ष बस्नेत
काठमाडौं, २७ पुस । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबमार्फत पत्रकारिता गर्ने हो भने व्यवस्थित हुन र पत्रकार आचारसंहिता पालना गर्न अनिवार्य भएको बताउनुभएको छ ।
अहिले नेपालको पत्रकारितालाई अगुवाइ गर्न युट्युबमार्फत गरिने मर्यादित पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । बिहीबार काउन्सिलको आयोजनामा सञ्चारग्राममा भएको युट्युब व्यवस्थापनका सन्दर्भमा आचारसंहिता अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले नेपालको पत्रकारितामा युट्युबको प्रत्यक्ष प्रभाव बढ्दै गएकाले पत्रकारिता गर्ने हो भने युट्युबको सञ्चालन व्यवस्थित गर्न जरूरी भएको बताउनुभयो ।
‘तपाईंहरू युट्युबबाट नै पत्रकारिता गर्छु भन्ने सोच्नुभएको छ भने त पत्रकारिताका मूल्य मान्यताअनुसार चल्नुस् र पत्रकारिता कर्म गर्नुस् । कसैले तपाईंमाथि प्रश्न उठाउँछ भने हामी साथमा छौँ’ उहाँले भन्नुभयो । प्रेस काउन्सिल सबै पत्रकारको अभिभावक संस्था भएकाले युट्युबमार्फत पत्रकारिता गर्नेको पनि अभिभावक भएको प्रस्ट पार्दै उहाँले युट्युबका समस्या समाधान गर्ने विषयमा काउन्सिलले सधैँ गम्भीरतापूर्वक भूमिका निर्वाह गर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले समाजले नयाँ कुरालाई सहजै स्वीकार्न नसक्ने भन्दै हिजो पत्रपत्रिका, रेडियो र अनलाइनले भोगेको समस्या अहिले युट्युब सञ्चालकले भोगेको बताउनुभयो । उहाँले सम्पादन बिनाको सामग्री सञ्चार सामग्री नहुने भन्दै युट्युबरलाई सिकाएर प्रोत्साहन गर्न आवश्यक रहेकोे बताउनुभयो । युट्युबर सञ्चार क्षेत्रकै सदस्य भएको भन्दै उहाँले नियमसङ्गत व्यवस्थित सञ्चालन भइ पूर्ण सदस्य बन्न सञ्चालकहरूलाई आग्रह गर्नुभयो । काउन्सिलले करिब ५० वटा युट्युब माध्यमका सञ्चालकरप्रतिनिधिहरूलाई तालिमसहितको अभिमुखीमरण कार्यक्रम गरेको हो ।