चाकुले बिँडो थाम्दै आएको टोखामा ‘तु’ लोप भयो, ‘ख्यः’ कंक्रिटमा परिणत (भिडियो रिपोर्ट)
काठमाडौं, २९ पुस । हरेक वर्ष माघ १ गते मनाइने माघे संक्रान्ति पर्वमा घिउसँगै चाकु, तरुल आदि जस्ता खाद्यान्नहरू खाने गरिन्छ । चाकु शरीरलाई ताप प्रदान गर्ने खाद्यान्न हो । माघ महिनाको जाडोमा शरीरलाई आवश्यक पर्ने ताप चाकुबाट प्राप्त गर्न सकिन्छ भन्ने विश्वास रहि आएको छ त्यही भएर माघको पहिलो दिनलाई चाकु खाएर स्वागत गर्ने चलन छ । यो पर्वलाई आवश्यक पर्ने चाकु भने मुख्य गरेर काठमाडौंको उत्तरी भेगमा पर्ने टोखामा उत्पादन गरिन्छ ।
उपत्यकामा भक्तपुर, थिमि आदि नगरमा पनि चाकु उत्पादन गरिन्छ तर टोखा भने चाकु उत्पादनका लागि प्रख्यात ठाउँ मानिन्छ । टोखामा इस्वी संवत् ५१९ देखि नै चाकु बनाउने प्रचलन चलेको किंवदन्ती पाइन्छ । लामो समयदेखि चाकु बनाउँदै आएको टोखाको परम्परागत चाकु उद्योगलाई बचाउनका लागि विसं २०७३ साल कात्तिक २२ गते ‘टोखा परम्परागत चाकु संरक्षण समाज’ नै स्थापना गरिएको थियो ।
टोखा नेवार समुदायको मुख्य बस्ती रहेको सहर हो । यो सहरमा काठमाडौँका अन्यत्रको तुलनामा माघे सङ्क्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्छ । माघे सङ्क्रान्ति पर्व आउनु भन्दा केही दिन अघि देखि नै यहाँका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ हुन्छ । टोखा नगरपालिका वडा नं २ र ३ मा मात्रै चाकु उत्पादन गर्ने १४ बढी उद्योग छन् । ती उद्योग वरिपरी माघेसंग्राती आउनु अघि देखि नै मानिसहरुको चहलपहल बढ्ने गर्छ ।
माघे संक्रान्ति सन्मुख आएपछि टोखामा रात दिन नै चाकु बनाउने काम शुरु हुन्छ । यसले चाकु उत्पादकहरूलाई अत्यन्तै व्यस्त बनाइदिन्छ । चाकु उत्पादनको लागि टोखा देशभरि नै प्रख्यात छ । टोखाको चाकु काठमाडौँका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । टोखामा उत्पादन हुने चाकु अहिले नेपालका विभिन्न जिल्ला मात्र होइन अमेरिका, अष्ट्रेलिया, क्यानाडा जस्ता देशका विभिन्न शहरहरूमा पनि पुग्ने गर्दछ । स्थानीय टोखा परम्परागत चाकु संरक्षण समाजका सदस्य शुद्ध श्रेष्ठ चाकु उत्पादनबारे यसो भन्नुहुन्छ ।
सक्खर पकाएर चाकु तयार भएपछि त्यसैबाट अन्य परिकार पनि बनाइन्छ । चाकु बनाउन सख्खर चाहिन्छ । अनि सख्खर बनाउन उखु । कुनै बेला टोखा उखु उब्जनीको लागि प्रख्यात थियो । स्थानीय नेपालभाषामा उखुलाई ‘तु’ भनिन्छ । अनि उब्जाउ हुने भूमिलाई ‘ख्यः’ भनिन्छ । ‘तु’ उब्जनी हुने ठाउँ भएकोले यसलाई ‘तुख्यः’ भनियो । त्यही ‘तुख्यः’ शब्द अपभ्रंश भई टोखा बन्न गएको भनाई छ ।
सक्खर पकाएर चाकु तयार भएपछि त्यसैबाट अन्य परिकार पनि बनाइन्छ । चाकु बनाउन सख्खर चाहिन्छ । अनि सख्खर बनाउन उखु । कुनै बेला टोखा उखु उब्जनीको लागि प्रख्यात थियो । स्थानीय नेपालभाषामा उखुलाई ‘तु’ भनिन्छ । अनि उब्जाउ हुने भूमिलाई ‘ख्यः’ भनिन्छ । ‘तु’ उब्जनी हुने ठाउँ भएकोले यसलाई ‘तुख्यः’ भनियो । त्यही ‘तुख्यः’ शब्द अपभ्रंश भई टोखा बन्न गएको भनाई छ ।
पहिला–पहिला चाकु बनाउन हातको प्रयोग बढी हुन्थ्यो । तर, विस्तारै आधुनिकतासँगै अहिले त्यो स्थान मिसिनले लिन थालेका छन् । अहिले टोखामा चाकु बनाउने काम निरन्तर छ तर उखु उत्पादन अहिले टोखामा बन्द भइसकेको छ । अहिले टोखामा चाकु बनाउन उखु आउँदैन । कृष्णनगरबाट सिधा सख्खर नै आउने गर्दछ । त्यही सख्खरबाट चाकु र चाकुसँग सम्बन्धित अन्य परिकारहरू बनाउने गरिन्छ ।
सख्खर सुगर फ्रि भएकाले माघेसंग्रातीमा मात्रै होइन अरुबेला पनि खाने चलन छ । टोखाको ‘तु’ अर्थात उखु उत्पादन हुने खेतमा सबै अहिले कंक्रिट घरहरूले भरिएका छन् । यद्यपि टोखामा ‘तु’ लोप भइसके पनि चाकु उत्पादन भने लोप भइसकेको छैन । बरु हातले बनाउने चाकु अहिले मिसिनले बन्न थालेका छन् भने त्यसको माग पनि अझ बढिरहेको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने चलन छ ।
साथै, नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ । चाकु चिसो लागेका बेला पनि खाने गरिन्छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुको साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बुढाबुढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ ।