नेपालभाषाका जनगायक भृगुराम श्रेष्ठको निधन

काठमाडौं, माघ १ । नेपालभाषाका जनगायक भृगुराम श्रेष्ठको निधन भएको छ । हिजो आइतवार काठमाडौंको वीर अस्पतालमा उहाँको निधन भएको हो । ९२ वर्षीय भृगुराम श्रेष्ठ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।

पारिवारिक स्रोतका अनुसार आज सोमवार पशुपतिको आर्यघाटमा उहाँको अन्तिम संस्कार गरिने छ ।

भृगुराम श्रेष्ठ नेपालभाषाका विख्यात गायक एवं कलाकार हुनुहुन्छ । उहाँले विशेष गरी जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित गीतहरू गाउनुभएको छ । उहाँले गाउनुभएका ‘माया रे रत्न….’, ‘द्यःयात सिन्हाय् स्वां…’, ‘थौं वइ ला कन्हय् वइ ला…’ नेपालभाषाका कालजयी गीत हुन् ।

उहाँले नेपालभाषा आन्दोलनका पनि धेरै गीत गाउनुभएको छ । भाषा आन्दोलनका अगुवा मल्ल के. सुन्दरका अनुसार भृगुराम श्रेष्ठ त्यस्ता गायक हुनुहुन्छ जसले संगीतको माध्यमबाट भाषा आन्दोलनलाई टेवा दिनुभयो । भाषा आन्दोलनसँग सम्बन्धित उहाँका गीतहरू ‘झीगु भाषा मन्त धाःसा…’, ‘झीगु खः नेपाल संवत्….’ ले तत्कालिन युवाहरूलाई आन्दोलनमा लाग्न प्रेरित गरेको थियो ।

काठमाडौंको असन सँगै रहेको तुंबहालमा जन्मनुभएका श्रेष्ठ केही समय मकवानपुरको हेटौंडामा पनि रहनुभएको थियो । त्यहाँ रहँदा उहाँले नेवाः सांस्कृतिक पुचः नामक संस्था गठन गरी हेटौंडामा नेवाः सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्नुभएको थियो ।

पछिल्लो समय उहाँ काठमाडौंका विभिन्न स्थानमा आयोजना गरिने भजन कार्यक्रमहरूमा सहभागी भई भजन गाउने गर्नुहुन्थ्यो । उहाँले ९० वर्षको उमेरसम्म नियमित भजन गाउने गर्नुभएको थियो ।

दिवंगत श्रेष्ठका दुई छोरा हुनुहुन्छ । नेपाली चलचित्रका नायिका स्व. नविना श्रेष्ठका उहाँ पिता हुनुहुन्छ ।