अराजक र अपराधिक कर्ममा संलग्न व्यक्तिहरुको घोडा चढेर राजतन्त्र फर्किदैँनः महेश बस्नेत

काठमाडौं, ३ माघ। नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतले प्रेत बनेको राजतन्त्रलाई फेरि ल्याउन सकिन्छ कि भनेर अनेक खालका अराजक र अपराधिक कर्ममा संलग्न भएका व्यक्तिहरुको घोडा चढेर अराजक अवस्था सिर्जना गर्न खोज्नेहरु पराजित भएको दाबी गर्नुभएको छ ।
केपी ओली कप फुटबल प्रतियोगिता आयोजनाबारे जानकारी गराउन बुधबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता बस्नेतले यस्तो दाबी गर्नुभएको हो । ‘राष्ट्रिय युवा संघ नेपालको अगुवाइमा मंसिर ७ गते विशाल जनप्रदर्शन गरेर परिवर्तन र लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरु एकै ठाउँ भएर प्रेत बनेको राजतन्त्रलाई फेरि ल्याउन सकिन्छ कि भनेर अनेक खालका अराजक र अपराधिक कर्ममा संलग्न भएका व्यक्तिहरुको घोडा चढेर अराजक अवस्था सिर्जना गर्न खोज्नेहरु पराजित गरिदियो,’ उहाँले भन्नुभयो, ‘अब त्यस्ता शक्तिहरुले टाउको उठाउनेवाला छैनन् ।’
उहाँले केपी ओली कप फुटबल प्रतियोगिता सरकारलाई उदाहरण देखाउने वैकल्पिक शक्तिको कार्यक्रम भएको उल्लेख गर्नुभयो । संगठनका संस्थापक अध्यक्ष, पार्टीका वर्तमान अध्यक्ष देश निर्माता केपी ओलीप्रति सम्मान प्रकट गर्न प्रतियोगिताको नाम केपी ओली कप फुटबल प्रतियोगिता राखिएको उहाँको भनाई थियो ।
‘यो प्रतियोगिताले खेल जगतमा उत्साह दिने विश्वास लिएका छौँ,’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय युवा संघ नेपाल १६ देखि ४० वर्षका युवाको हक हित र समग्र नेपालको हितको पक्षमा संघर्षरत संस्था हो । नेपालका राजनीतिक परिवर्तनमा सो संगठनको अग्रणी भूमिका छ ।’
बस्नेतले ज्यान मारेका अपराधीलाई जेल सजाय मिनाहा भइरहेको अवस्थामा क्रिकेटका राष्ट्रिय प्रतिभा सन्दीप लामिछानेलाई आठ वर्ष लामो जेल सजाय हुनु अन्यायपूर्ण भएको बताउनुभयो । कुनै पनि खेलाडी माथि अन्यायपूर्ण व्यवहार नहोस् भनि आवाज उठाउनु पर्ने तर यसो गर्दा पीडित भनिएका महिलाहरू पनि अन्यायमा पर्नु नहुनेमा उहाँले जोड दिनुभयो । यस्तो अवस्थामा कानुन संशोधन वा सजाय मिनाहा गर्ने तर्फ ध्यान जानु पर्ने उहाँले बताउनुभयो ।
उहाँले एमालेको ध्यान सत्ता र गठबन्धनमा नरहेको पनि बताउनुभयो । ‘हाम्रो ध्यान सत्ता होइन, हाम्रो ध्यान भनेको परिवर्तन हो, युवाको रोजगारी हो, युवाको शिक्षा हो, युवाले स्वास्थ्य प्राप्त गर्ने कुरा हो, हाम्रो ध्यान भनेको मुलुकको समृद्धि हो, विकास हो’, बस्नेतले भन्नुभयो ।
गठबन्धन सरकारले तीन वर्षसम्म केही पनि गर्न नसकेको बताउँदै बस्नेतले राष्ट्रिय युवा संघ नेपालले गठबन्धनलाई दबाब दिने आन्दोलन चलाउने बताउनुभयो । तथापि सरकारका राम्रा काममा राष्ट्रिय युवा संघ नेपालले सधैँ सहयोग गर्ने बस्नेतको भनाई छ । जाजरकोटका भूकम्प पीडितलाई पनि राष्ट्रिय युवा संघ नेपालले सरकारलाई नै चुनौती दिने गरी राहत र उद्धारको काम गरेको उहाँले बताउनुभयो । यसका लागि उहाँले राष्ट्रिय युवा संघ नेपाललाई धन्यवाद दिनुभयो ।