शहीदले देखेको सपना कार्यान्वयनका लागि सबैका बीचमा साझा संकल्प आवश्यकः उपमेयर डंगोल

काठमाडौं, १६ माघ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरूको सपना साक्षी राखी एकजुट भएर काम गर्ने बेला आइसकेको बताउनु भएको छ । मंगलवार काठमाडौंमा शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले शहीदले देखेको सपना र त्यसलाई साँचो अर्थमा कार्यान्वयन गर्नका लागि अहिले सबैका बीचमा साझा संकल्प चाहिएको बताउनुभयो । समृद्धिको मूल आधार भनेको आर्थिक विकास र रोजगारी रहेको भन्दै यसलाई सार्थक बनाउनका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र र अधिकार भित्र रहेर काम गरिरहेको पनि उहाँले बताउनुभयो ।

उहाँले नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक, उत्थान र सँगसँगै स्वास्थ्य शिक्षामा पहुँच तथा समावेशी एवं पहुँचयुक्त विकासमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले महानगरवासीको मुहारमा खुशी र सुखका अनुभूति ल्याउन निरन्तर रूपमा प्रयासरत रहेको बताउनुभयो । उपप्रमुख डंगोलले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तहगत रूपमा नै सरकारहरूलाई नागरिकको मुहारमा खुशी ल्याउने कर्ममा लाग्नुपर्ने आजको उद्देश्य रहेको बताउनुभयो । यसबाट नै शहीदले देखेका सम्पूर्ण सपनाहरू पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौं महानगरले शहीद दिवसका अवसरमा आज शहीद स्मारक लैनचौरमा आयोजना गरेको स्मृति सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।  दिवसको अन्तिम दिन आज बिहान ८ बजे शान्ति बाटिकाबाट प्रभात फेरि निकालेको महानगरले लैनचौरमा स्मृति सभा गरेको हो । आज नै महानगरको वडा नम्बर २३ ले ओमवहालमा रहेको धर्मभक्त माथेमा पार्कमा स्मृति सभा गरेको छ ।

महानगरले माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा, १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरेको थियो । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।