नेम्बाङलाई उपचारका लागि काठमाडौँ लगिँदै

ताप्लेजुङ, १७ माघ । प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात बिरामी परेपछि उपचारका लागि काठमाडौँ लगिँदै छ ।
नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ आउनुभएका उहाँ अचानक बिरामी पर्नुभएको हो ।
सांसद नेम्बाङलाई हेलिकप्टरमा काठमाडौँ लैजाने तयारी भइरहेको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिनुभयो । जिल्ला अस्पतालले उहाँलाई उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएको अध्यक्ष थेबेले बताउनुभयो ।
पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्जसमेत हुनुहुन्छ । उहाँ आज बिहान फिदिमबाट ताप्लेजुङ पुग्नु भएको हो । खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि सांसद नेम्बाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो । तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उहाँलाई जिल्ला अस्पताल लगिएको थियो ।