शाक्यको न्याय माग्दै मंगलबजारदेखि सिडियो कार्यालयसम्म मौन जुलुस

तलितपुर, २३ माघ । ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलमा भदौ १५ गते जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य स्वीमिङ गर्न जाँदा करेन्ट लागेर गम्भीर घाइते हुनुभएको थियो । शाक्यको जावलाखेलस्थित घरमै अहिले पनि उपचार भइरहेको छ। उक्त घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने र शाक्यलाई न्याय दिनुपर्ने माग राख्दै पटकपटक प्रदर्शन हुँदै आएको छ ।
आज पनि शाक्यको न्यायका लागि संघर्ष समितिको आयोजनामा पाटनको मंगलबजारदेखि जिल्ला प्रशासन कार्यालयसम्म न्यायको माग गर्दै मौन जुलुस निस्किएको छ । मंगलबजारबाट निस्किएको मौन जुलुसले जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको छ भने होटलकी सञ्चालक रोमी अर्याल पनि पक्राउ परेकी छन्। जिल्ला प्रहरी परिसर ललितपुरले होटलकी सञ्चालक अर्याललाई सोमबार पक्राउ गरेको जानकारी दिएको छ ।
रोमी आफैं परिसरमा उपस्थित भएको पनि प्रहरीले जानकारी दिएको छ । स्वीमिङ पुल छेउको स्पट लाइटमा छुँदा करेन्ट लागेपछि शाक्य गम्भीर घाइते हुनुभएको थियो । परिवारले होटलका दुई जना सञ्चालकविरूद्ध जाहेरी दिएका थिए। यसअघि ललिता भण्डारीलाई प्रहरीले पक्राउ गरिसकेको थियो। भण्डारी माघ ६ गते पक्राउ गरेको हो ।
प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको छ । तर, छिटो छानविन गरी दोषीमाथि कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।