भक्तपुरका पत्रकार कृष्ण किसी क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित

भक्तपुर, २३ माघ । भक्तपुरका पत्रकार कृष्ण किसी रफत सञ्चार क्लब क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

मंगलबार भक्तपुरमा भएको रफत सञ्चार क्लबकाे १४ औं वार्षिकोत्सवको अवसरमा पत्रकार किसीसहित गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भटराई र सरोकार टिभीका अध्यक्ष पत्रकार दिलीप थापामगर सम्मानित भएका हुन् ।

उनीहरु तीन नै जनालाई युवा क्रियाशिलता पुरस्कार प्रदान गरिएको हो । कल्पना स्मृति पुरस्कारबाट कर्णाली प्रदेश क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक एवं वरिष्ठ रेडियोलजिस्ट डा. रविन खड्कालाई पनि सम्मान गरिएकाे छ।

राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रिय सभापति रवि लामिछानेले उनीहरूलाई नगदसहित सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरे ।

कार्यक्रम भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, रफत सञ्चार क्वलका अध्यक्ष शुशीलबन्धु थापा, प्रेमबहादुर थापालगायतले पत्रकारिताको महत्वबारे चर्चा गरेका थिए ।

पत्रकार किसी २५ वर्षदेखि पत्रकारितामा निरन्तर क्रियाशिल छन् । उनी नागरिक दैनिकसँंग पनि आवद्ध छन् ।