एसीसी महिलाकप क्रिकेटमा भुटान नेपालसंग ८ विकेटले पराजित
काठमाडाैं, २८ माघ । एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
आइतबार दोस्रो खेलमा भुटानलाई नेपालले ८ विकेटले पराजित गरेको हो ।
मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो । ब्याटिङमा नेपालकी सीता राना मगर ३२ र रुबिना क्षेत्री १७ रनमा अविजित रहे ।
कविता कुँवर ५ र कप्तान इन्दु बर्मा १ रनमा आउट भए । बलिङमा भुटानकी अञ्जली गुरुङ र अञ्जुली घलीले एक एक विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रन बनाएको थियो । नेपालका इन्दु बर्मा, सीता राना मगर, कविता कुँवर र कविता जोशीले एक–एक विकेट लिए ।
यसअघि पहिलो खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको थियो ।