अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमनमा उपमेयर डंगोलको सक्रियता, आज दुई अस्पतालको अनुगमन
काठमाडौं, ४ फागुन । काठमाडौं महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ । उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा आजसम्म ७ वटा सरकारी र नीजि अस्पतालको अनुगमन गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।
उपप्रमुख डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पताल, थापाथलीको नर्भिक र प्रसुति गृह, टेकुको टेकु ट्रपिकल अस्पताल, कान्तिबाल अस्पताल, वीर अस्पताल र ट्रमा सेन्टर गरी सात ओटा अस्पतालमा संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।
काठमाडौँ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानीकारक फोहोर व्यवस्थापन सम्बन्धी व्यवस्था छ । ऐनको दफा २० बमोजिम हानीकारक, स्वास्थ्य संस्थाजन्य, रसायनिक वा औद्योगिक फोहोरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्ने उल्लेख छ ।
‘वातावरणीय जोखिम बढ्न नदिन हामी सचेत छौँ त्यसैले हामी क्षेत्राधिकारभित्रका काम गरिरहेका छौँ,’ आज वीर र ट्रमाको अनुगमनपछि डंगोलले भन्नुभयो, ‘हामीले हाम्रो क्ष्ंोत्राधिकार भित्र रहेका सबै अस्पतालको अनुगमन गर्ने तयारी गरेका छौँ । करीब एक महिना भित्र सबै अस्पतालको अनुगमन गर्ने तयारीमा छौँ ।’ स्रोतमै फोहोर छुट्याउने हो भने धेरै हदसम्म फोहोर व्यवस्थापनमा सहज हुने डंगोलको भनाई छ ।
‘अनुगमनका क्रममा डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुले वर्गीकरणमा ध्यान दिए पनि विरामी र कुरुवाहरुले जानकारीको अभावले पनि होला स्रोतमै वर्गिकरण गर्ने कुरामा धेरै ध्यान दिएको जस्तो देखिएन,’ उहाँले भन्नुभयो, ‘हामीले अनुगमनका क्रममा त्यो कुरामा पनि ध्यान दिन भनेको छौँ । अहिले हामी अनुगमनकै क्रममा छौँ । कतै व्यवस्थापन राम्रो र कतै सुधार गर्नुपर्ने देखिएको छ ।’
महानगरपालिकाले सामान्य फोहोर उत्पादन हुने ठाउँमा ४ प्रकारका बाल्टिन राखिएको र प्लाष्टिक, बोतल र क्यान, कागज र खानाजस्ता कुहिने बस्तु छुट्टाछुट्टै बाल्टिनमा जम्मा गर्ने व्यवस्था गरेको जानकारी दिएको छ । हानीकारक फोहोर संकलन गर्न ८ वटा बाल्टिनसहितको ट्रली प्रयोग गर्ने गरिएको, संक्रमित फोहोर निर्मलीकरण गर्न १ सय लिटरका २ वटा अटोक्लेभ मेसिन राखिएको र उपचारका क्रममा उत्पादन भएको तरल हानीकारक फोहोरलाई क्लोरिनेसन गरेर सामान्य बनाउने गरेको पनि महानगरपालिकाले जानकारी दिएको छ ।
विभागले अस्पतालजन्य फोहोर वर्गीकरण गर्न, जोखिमयुक्त फो होरलाई प्रशोधन गरेर निर्मलीकरण गर्न र उत्पादन फोहोरलाई व्यवस्थापन गर्न सार्वजनिक सूचनामार्फत अनुरोध समेत गरेको महानगरपालिकाले जानकारी दिएको छ ।