संसदमा एमालेको प्रश्न

सिपाहीलाई डन्डा, मन्त्रीलाई झन्डा किन ? मन्त्री प्रकाश ज्वालालाई जिम्मेवारीबाट तत्काल हटाउ

काठमाडौँ, ६ फागुन । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद बैठकमा सिपाहीलाई डन्डा, मन्त्रीलाई झन्डा किन ? भनेर प्रश्न गर्नुभएकाे छ ।

उहाँले आइतबारको संसद बैठकमा सरकारले बनाएको आयोगले दोषी ठानेका मन्त्रीहरूलाई जिम्मेवारीमा राखेर विधिको शासन सुशासन अघि बढाउन नसक्ने भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएकाे हाे ।

उहाँले बालकुमारी घटनामा जोडिएका भौतिक मन्त्री प्रकाश ज्वालालाई जिम्मेवारीबाट तत्काल हटाउन माग गर्नुभएकाे छ । सरकारले गठन गरेको जाँचबुझ आयोगले नै मन्त्री दोषी देखाएको अवस्थामा त्यस्ता मन्त्रीलाई पदमा राखिरहन उपयुक्त नहुने भन्दै तत्काल हटाउन माग गर्नुभएकाे हो ।

उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिने अर्का एक मन्त्री समेत मन्त्रीका रूपमा राखेर प्रधानमन्त्रीको सुशासनकाे बयान गरेकाे भन्दै भ्रष्टाचार र अनियमिततामा जोडिएका मन्त्रीहरू सरकारमा राखेर कहीँ नपुगिने बताउनुभयाे ।

उहाँले रामग्राम क्षेत्रको जग्गा निजी क्षेत्रलाई दिने सरकारको निर्णय लेखा समितिका कारण रोकिए पनि त्यस प्रकरणमा भ्रष्टाचारको गन्ध आएको बताउनुभयाे । उहाँले यी र यस्ता घटनाले देशको शिर निहुरिएको भन्दै भ्रष्टाचारमा मुछिएकाहरूलाई बर्खास्त गर्न माग गर्नुभएकाे छ ।