अखिलको स्वर्णिम योजनाः २ लाख विद्यार्थीको उपस्थितिमा महोत्सवदेखि अखिल पाठशालासम्म

काठमाडौं, ६ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विद्यार्थी महोत्सव गर्ने भएको छ । २०८१ जेठ १ गते संगठनको ६० औं स्थापना दिवसको अवसर पारेर अनेरास्ववियुले विद्यार्थी महोत्सव गर्ने जानकारी दिएको हो ।
केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष समिक बडालले यस्तो जानकारी दिनुभएको हो । विद्यर्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्ने, विद्यार्थीहरुको बहुआयमिक प्रतिभालाई उजागर गर्ने, युवाहरुमा कला, संस्कृति, नवप्रर्वतन र राजनीतिक चेतनाको विस्तार गर्नेलगायतका उदेश्यले अनेरास्ववियुकाे उपाध्यक्ष धर्म गिरीको संयोजकत्वमा आयोजना गर्ने सो महोत्सवमा २ लाख विद्यार्थीको उपस्थित गराउने उदेश्य लिएको अध्यक्ष बडालले जानकारी दिनुभयो ।
त्यसैगरी अनेरास्ववियुले अखिल पाठशाला चलाउने पनि निर्णय गरेको छ । ‘विद्यार्थी विद्रोहका बन्दुक मात्रै होइनन्, सिर्जनाका संवाहक पनि हुन्’ भन्ने नारासहित अघि बढेको अनेरास्ववियु पछिल्लो समय रचनात्मक, सिर्जनात्मक र बैचारिक रुपमा केही कमजोर भएको हो कि भन्ने आरोप लागिरहेका बेला अनेरास्ववियुले अखिल पाठशाला चलाउने निर्णय गरेको हो । केही महिना अघि अनेरास्ववियुले ‘कालो अक्षर, सेतो अक्षर’ नाटक मञ्चन गरेको थियो ।
हजारौ युवाहरु रोजगारी र शिक्षाका लागि विदेश जान अहिले पनि किन बाध्य छन् ? निम्न वर्गका विद्यार्थीहरु पढ्ने विद्यालय र विश्वविद्यालयहरु शैक्षिक माफियाका कारण निर्धो किन बनेका छन् ? आफ्नो जायजेथा बेचेर पढ्नुपर्ने बाध्यता अहिले पनि किन जिवित छन् ? यी र यस्तै विषयलाई मूल आधार बनाएर बनेको उक्त नाटक प्रदर्शन गरेर बडाल अध्यक्ष रहेकै बेला र विद्यार्थी आन्दोलनप्रति नै विभिन्न आरोप उठिरहेका बेला निकै ठूलो चुनौति मोलेर नाटक देखाउने अदम्य आँट अनेरास्ववियुले गरेको थियो । त्यो आफैँमा परिवर्तनको एउटा झिल्को थियो । अहिले फेरि अनेरास्ववियुले अखिल पाठशाला सञ्चालन गर्ने निर्णय गरेर विद्यार्थी आन्दोलनलाई चलायमान बनाउने आँट गरेको छ ।
त्योसँगै अनेरास्ववियुले ‘मिशन क्लासरुम, एक्सप्लोर नेक्स जनेरेशन लिडर’को नारासहित दश हजार कमिटी निर्माण गर्ने लक्ष्य लिएको पनि जानकारी दिएको छ । नेपाली विद्यार्थी आन्दोलनलाई एशियालीस्तर तथा अन्तराष्ट्रियस्तरसम्म लैजानका लागि एशिया एशियाली विद्यार्थीहरुको उपस्थितिमा अन्तराष्ट्रियस्तरको सम्मेलन गर्ने पनि घोषणा गरेको छ ।
उपाध्यक्ष नारायण घर्तीको नेतृत्वमा सो सम्मेलन गर्ने तयारी भएको अध्यक्ष बडालले जानकारी दिनुभयो । सम्मेलनमा एशिया क्षेत्रका समाजवादी तथा प्रजातान्त्रिक विद्यार्थी संगठन र शैक्षिक आन्दोलनमा क्रियाशील नेताहरु, विश्वविद्यालय स्ववियुका अध्यक्षहरुलगायतको सहभागिता रहने उपाध्यक्ष घर्तीले जानकारी दिनुभयो ।
उक्त सम्मेलनमा शिक्षा, शिक्षा प्रणाली, दिगो विकासका लक्ष्यहरु तथा राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रसँग सम्बन्धित समसामयिक विषयहरुमा विद्यार्थीहरु र विद्यार्थी संगठनबिच छलफल गरी अवधारणा तयार गर्ने अनेरास्ववियुको तयारी छ ।