विश्वप्रकाशको समसामयिक प्रस्तावः १५ वर्षे सपनालाई मुख्य आधार बनाऔँ
काठमाडौं, ८ फागुन । महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दै ‘हरेक विषयमा स्पष्टता, हरेक मुद्धामा अग्रसरता’ को दृष्टिका साथ नेपाली कांग्रेस अघि बढ्नु पर्ने बताउनुभएको छ ।
उहाँले ‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्य’को नारालाई बोकेर इतिहासप्रति गर्व, वर्तमानको सुक्ष्म विश्लेषण र परिस्कृत र परिपक्क बनाउँदै देशलाई अघि बढाउनु पर्ने प्रस्तावनामा उल्लेख गर्नुभएको छ ।
उहाँले आफ्नो प्रस्तावमा मुख्य गरेर दश ओटा विषयलाई समावेश गरेको उल्लेख गर्नुभएको छ । लोकतन्त्रको विकल्पः समुन्नत लोकतन्त्र, समुन्त लोकतन्त्रका लागिः लोकतान्त्रिक संस्कृति, गठबन्धनः फरक मतको चुनौतिपूर्ण सहयात्रा, सरकारमा सहभागिताः उपलब्धि,चुनौति र अपेक्षा, नेपालमा सुशासनः चरित्र, चुनौति र निदान, नागरिकमा असन्तुष्टिः कारणको चुरो र निवारणको जरो, राज्य र राजनीतिको साझा कार्यभार, राजनीतिले चिन्नुपर्ने, चिर्नुपर्ने र सहकार्यमा गाँस्नु पर्ने नेपाली समाजको बहुआयामिक मनोविज्ञान, व्यवस्थामा परिमार्जन, अवस्थामा रुपमान्तरण, नीति र थितिको जगमा १५ वर्षे सपनालाई मुख्य आधार बनाउनु भएको छ ।