माओवादी गुल्मीका दुई पालिका कमिटीका अध्यक्ष नेकपा (एमाले) मा प्रवेश

गुल्मी, २७ फागुन । नेकपा (माओवादी केन्द्र) का गुल्मीका दुई पालिका कमिटीका अध्यक्ष नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेमा मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नवीन केसी हुनुहुन्छ ।

खरेल र केसी आजबाट सुरु भएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा एमाले प्रवेश गर्नुभएको हो ।

पार्टीका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य तथा गुल्मी जिल्ला इञ्चार्ज सूर्य थापालगायतका नेताहरूले नवप्रवेशीहरूलाई एमालेमा स्वागत गर्नुभयो ।

एमालेमा प्रवेश गरेपछि दुवै जनाले कम्युनिष्ट शक्ति एक हुनुपर्छ भन्ने निष्कर्षसहित दबाव दिन एमालेमा प्रवेश गरेको बताउनुभयो । पालिका अध्यक्षद्वय एमाले प्रवेश गरेसँगै दुवै पालिकाका एमाले अझ सुदृढ भएको प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।