मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध जनप्रतिनिधि, कार्यालयमा तालबन्दी

उदयपुर, ६ चैत । मेयर राजेशचन्द्र श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले मनोमानी रुपमा एकलौटी काम गरेको भनदै उदयपुरको कटारी नगरपालिकामा जनप्रतिनिधिहरुले तालाबन्दी गरेका छन् ।

कटारी नगरपालिकाका ९ जना वडा अध्यक्षले नगरपालिकामा तालाबन्दी गरेपछि त्यहाँको कामकाज ठप्प भएको छ । पछिल्लो समय मेयर र प्रमुख प्रशासकीय अधिकृतको मनोमानीले त्यहाँका जनप्रति हैरान भएका छन् ।

कार्यपालिकाबाट निर्णय नभएका योजनाहरु मेयर र अधिकृत मिलेर कार्यान्वयन गर्ने अनि नगर परिषद्बाबाट पास भएका योजनाहरुमा रोक लगाउने गरेपछि जनप्रतिनिधि विरुद्धमा उत्रिएका हुन् । कार्यपालिकाको बैठकमा १७ जना सदस्यले असहमति जनाएको विषयमा मेयर र प्रशासकीय अधिकृतले मनोमानी गरेको जनप्रतिनिधिहरुको आरोप छ । नगरले सेवा प्रवाहमा सर्वसाधारणलाई सास्ती दिने गरेको पनि उनीहरुको आरोप छ ।

‘नगरपालिकाले योजना सम्झौता गर्न र भुक्तानी दिन विभिन्न बहाना बनाउँदा त्यसको मार खेप्न सर्वसाधारण बाध्य भएका छन्,’ एक वडाध्यक्षले भन्नुभयो, ‘प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टाराई आएपछि नगरमा बेथिति बढेको छ ।’