संकटा मन्दिरमा शनिबार दर्शनार्थीहरुको घुँइचो (भिडियोसहित)

काठमाडौां, १७ चैत । काठमाडौंको टेःबहालमा रहेको संकटा मन्दिरमा शनिबार दर्शनार्थीहरुको घुँइचो लाग्ने गर्छ । यहाँ दसैंको नवरात्रीमा पनि दर्शनार्थीहरुको घुइँचो लाग्छ ।
काठमाडौंको न्यूरोड गेटबाट दक्षिण लागेपछि करीब ५० मिटर टाढा रहेको गणेश मन्दिरबाट पश्चिमछिरेपछि पुगिने संकटा मन्दिरमा दर्शन गरेपछि मानिसकका हरेक संकट अन्त्य हुने विश्वास रहिआएको छ । लिच्छविकालमा राजा नरेन्द्र देवका पालामा स्थापना भएको भनिएको प्यागोडा शैलीमा निर्माण यो मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा परिचित छ । दुई तले यो मन्दिरमा पाँचवटा गजुर रहेका छन् भने मन्दिरको तल्लो तल्लामा रातो मच्छिन्द्रनाथको मूर्ति राखिएको अवस्थित छ । माथिल्लो तल्लामा संकटाको मूर्ति छ ।

किम्बदन्तीअनुसार लिच्छवी राजा नरेन्द्र देवका समयमा काठमाडौं उपत्यकामा १२ वर्षसम्म खडेरी परेको र त्यसको कारण खोजी गर्दा गोरखनाथ रहेको थाहा भएको भन्ने छ । किम्बदन्तीअनुसार उपत्यकाका सबै नागलाई आफ्नो अधीनमा लिई गोरखनाथ दिव्य साधनामा बसेको र गोरखनाथको अधिनमा परेका नागले वर्षा गराउन नपाएको भन्ने छ । नागहरूलाई गोरखनाथको अधीनबाट मुक्त गराई उपत्यकामा वर्षा गराउन उनलाई साधनाबाट ब्यूँताउन गुरु मच्छिन्द्रनाथबाट मात्र सम्भव रहेकाले भारतको असाममा रहेका मच्छिन्द्रनाथलाई उपत्यका ल्याउने तयारी गरिएको पनि भनाई छ ।

किम्बदन्तीअनुसार नै मच्छिन्द्रनाथलाई उपत्यका ल्याउने क्रममा कटूवाल दहबाट संकटाले हात देखाए छन् । मच्छिन्द्रनाथलाई उपत्यका पुर्‍याएर पुनः लिन आउने बाचा गरिएछ । त्यसपछि मच्छिन्द्रनाथलाई पाटनमा राखी १५ दिनपछि संकटालाई काठमाडौं ल्याएर टेबहालमा राखिएको भनाई छ । यता नेवार समुदायले संकटा आजु साथै पाला ध्यो पनि भन्ने चलन छ ।