खानेपानी मन्त्री गृहजिल्लामा चार दिनः खानेपानी आयोजनादेखि विद्यालय र वडा भवनसम्मको उद्घाटन र शिलान्यास

धनकुटा, १९ चैत । खानेपानी मन्त्री राजेन्द्र राईले गृहजिल्ला धनकुटामा चार दिन विताउनु भएको छ । विभिन्न कार्यक्रमसहित जिल्ला पुग्नु भएका मन्त्री राईले त्यहाँ विकास निर्माणका काममा चासो व्यक्त गर्नुभयो । उहाँ धनकुटा रहेकै बेला धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नाम्जेस्थित नाम्जे विद्यालय समुदाय सिँचाइ योजनाको भवन उद्घाटन कार्यक्रममा सहभागी हुनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले पानी ओसार्नका लागि थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्ने बताउनुभयो ।

‘आमा, दिदीबहिनीहरूले पानी ओसार्नका लागि अहिले पनि धेरै दुःख गर्नु परिरहेको छ, देशभरका धेरै ठाउँमा यस्तो समस्या छ,’ मन्त्री राईले भन्नुभयो, ‘अब दिदीबहिनीहरूले पानी ओसार्नका लागि थाप्लोमा नाम्लो बोक्नु पर्ने र कम्मरमा गाग्री बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्छौ ।’ देशभरको खानेपानी समस्या समाधानका लागि द्रुत गतिमा काम गर्ने उहाँको भनाई छ । खानेपानी समस्या समाधान गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै मन्त्री राईले यो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने उल्लेख गर्नुभयो । अहिले गाउँ–गाउँमा विकासले गति लिदै गएको उहाँको भनाई छ ।

तीब्र गतिमा विकास गर्न सरकार लागिपरेको भन्दै मन्त्री राईले विकासलाई गति दिन सरकारमात्र नभएर जनताहरू पनि लागिपर्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो । आफ्नो गृहजिल्ला भएकाले धनकुटालाई प्राथमिकतामा राखेर काम गर्ने मन्त्री राईले बताउनुभयो । खानेपानीको समस्या क्रमस हल गर्दै जाने भन्दै उहाँले धनकुटामा खानेपानीमा मात्र नभएर सडक स्तरोन्नति लगायत अन्य विकास निर्माणका काममा पनि पहल गर्ने बचन दिनुभयो । आफू शासक नभई जनताको सेवक भएको तर्क गर्दै उहाँले जनताले आफूलाई दिएको मत कहिल्यै खेर जान नदिने दावी गर्नुभयो ।

उहाँले धनकुटा नगरपालिका खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा पनि सहभागिता जनाउनु भएको थियो । उक्त कार्यक्रममा उहाँले धनकुटा बजारको खानेपानी समस्या समाधानका लागि चालु आर्थिक वर्षमा मन्त्रालयको तर्फवाट एक करोड बजेट उपलव्ध गराउने घोषणा गर्नुभयो । त्यसपछि क्रमस आवस्यक वजेट उपलव्ध गराउने मन्त्री राईले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले पाख्रिबास नगरपालिकाका दुई वटा वडा भवनको पनि शिलान्यास गर्नुभयो भने एक वटा वडा भवनको उद्घाटन गर्नुभयो । उहाँले पाख्रिबास नगरपालिकाको ३ र ७ वडा भवन शिलान्यास गर्नुभएको थियो भने सहिदभूमि गाउँपालिका वडा–४ को कन्यादेवी माध्यामिक विद्यालय भवनको पनि उद्घाटन गर्नुभएको थियो । विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबार गृहजिल्ला धनकुटा आइपुगेका मन्त्री राई आइतबार काठमाडौं फर्किसक्नु भएको छ ।