टि ट्वान्टी : आयरल्यान्ड ‘ए’ तीन रनले पराजित

काठमाडौँ, १९ चैत । नेपाल ‘ए’ले तेस्रो तथा अन्तिम ‘टि ट्वान्टी’ खेलमा आयरल्यान्ड ‘ए’लाई तीन रनको झिनो रनले पराजित गरेको छ ।
जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १० रनमा समेटियो । तीन खेलको टि–ट्वान्टी शृङ्खलाको उपाधि भने आयरल्यान्ड ‘ए’ले एक खेल अगावै जितेको थियो ।
नेपाल ‘ए’ यसअघि खेलेका दुवै खेलमा पराजित भएको थियो । आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।
आजको खेलमा आयरल्यान्डका लागि ग्यारेथ डेलानी र मोर्गन टोप्पिङले अर्धशतकीय पारी खेले । डोलानीले ३७ बलमा पाँच चौका र पाँच छक्काको सहयोगमा सर्वाधिक ६८ रनको योगदान दिए । त्यस्तै टोप्पिङले ३७ बलमा चार चौका र चार छक्काको मद्दतमा ६० रन बनाए । त्यस्तै रोस्स अदिरले ३१ रन बनाउदाँ फिन ह्यान्डले २२ रन जोडे ।
बलिङतर्फ नेपालका विपिन खत्रीले तीन विकेट लिए भने कमल ऐरी, नारायण जोशी र रासिद खानले समान एक /एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १३ रनको योगफल बनाएको थियो ।