कर्णालीमा मुख्यमन्त्री कँडेल कि शर्मा भन्नेमा विवाद, दुबै दल छलफलमा

काठमाडौं, २१ चैत । अहिले केन्द्रमा नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका पाँच दलको सहकार्यमा सत्ता सञ्चालन भैरहेको छ । तर, केही प्रदेशमा भने सामान्य समस्या देखिएको छ । मुख्य गरेर केन्द्रीय सत्ता गठबन्धनको निर्णय विरुद्ध कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेपछि खटपटको आशंका देखिएको छ ।

केन्द्रले गरेको बाँटफाँट अनुसार मुख्यमन्त्री अहिले एमालेको भागमा परेको छ । तर, शर्माले मुख्यमन्त्रीमा विश्वासको मत लिने जिरहसहित बाटो खुला नगरेपछि समस्या देखिएको छ ।

एमाले प्रमुख सचेतक टेकराज पछाईँ अहिले वार्ता भैरहेको र परिणाम सकारात्मक आउनेमा आशावादी रहेको बताउनु हुन्छ । छलफलका लागि एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री शर्माको निवास पुग्नु भएको छ । मुख्यमन्त्री शर्माले पहिलो चरणमा आफूलाई सहयोग गर्न आग्रह गर्दै आउनु भएको छ भने कँडेल केन्द्रको सर्कुलर अनुसार अघि बढ्नुपर्छ भन्ने अडानमा हुनुहुन्छ ।

पूर्वमुख्यमन्त्री समेत रहनु भएका माओवादी नेता महेन्द्रबहादुर शाही पनि अहिले सुर्खेतमै हुनुहुन्छ । उहाँ प्रचण्डको आग्रहमा त्यहाँ पुग्नु भएको हो । अहिलेसम्म छलफल चलिरहे पनि परिणाम सकारात्मक आउनेमा दुबै दल आशावादी छन् ।