पर्यावरण जोगिए पृथ्वी र पृथ्वी जोगिए मात्रै मानवजाति जोगिन्छः अध्यक्ष बस्नेत

काठमाडौं, २९ चैत । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पर्यावरण जोगाए मात्रै पृथ्वी जोगिने र पृथ्वी जोगिए मात्रै मानवजाति जोगिने उल्लेख गर्नुभएको छ । साहित्यिक पत्रकारिता संघले आयोजना गरेको छलफल तथा सम्मान कार्यक्रममा अध्यक्ष बस्नेतले यस्तो उल्लेख गर्नुभएको हो । उहाँले साहित्यिक पत्रकारितालाई कसरी जोगाउने भन्ने विषयमा चिन्तित रहेको पनि स्मरण गराउनुभयो ।

‘समस्या के–हो भनेर खोज्नुपर्छ हामी लागेका छौ ,’ उहाँले भन्नुभयो, ‘अहिलेको पत्रकारिताको जननी साहित्यिक पत्रकारिता हो । त्यसैले नेपालको साहित्यिक पत्रकारिता धनी भयो भने मात्रै नेपालको पत्रकारिता धनी हुन्छ । त्यो भयो भने देश पनि धनी हुन्छ ।’

बस्नेतले समृद्धि सडक बनाउनु र भवन बनाउनु मात्रै होइन भन्दै भाषा, संस्कृति, रहनसहन, भेषभूषाको संरक्षण गर्नु पनि समृद्धि भएको उल्लेख गर्नुभयो । त्यो साहित्यिक पत्रकारिताले धानेको बस्नेतको भनाई थियो । ‘विश्वभरका मान्छे, नेपाल हेर्न, ताल हेर्न, जंगल र हिमाल हेर्न आएका छन् । तर हामी विमानस्थलबाट ओर्लिने बित्तिकै माग्न थाल्छौ । हामीले हामीलाई चिन्न सकेका छैनौं भन्ने तथ्य हो, यो,’ उहाँले भन्नुभयो, ‘आफ्नो क्षेत्राधिकार भित्र रहेर साहित्यिक पत्रकारिता जोगाउन विभेदमुक्त भएर वर्गिकरण गर्ने कुरामा हामी तयार छौँ ।’

अध्यक्ष बस्नेतले जलवायु, पर्यटन र पर्यावरण जोगाउने कुरा पृथ्वी बचाउने कुरा भएको भन्दै पृथ्वी बच्यो भने मात्रै हिमाल बाँच्ने र हामी बाच्ने उल्लेख गर्नुभयो । ‘हिमाल बाँचे मात्रै हिमाल हेर्न विदेशी आउँछन्,’ उहाँले भन्नुभयो, ‘हामी हिमाल बचाउन लागौं।’

बस्नेतलाई हिमाली क्षेत्रको कठिन पदयात्रा गर्दै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे हिँडेरै तयार पारेको वृत्तचित्र समेत निर्माण गरेको साथै हिमाल जोगाउन २५ वर्षदेखि योगदान गरेको भन्दै सम्मान गरिएको हो । उहाँलाई सम्मानपत्रमा हिमडमरुको उपाधि दिइएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै साहित्यकार रोचक घिमिरेले साहित्यिक पत्रकार संघले आफ्नो ५२ वर्षको इतिहासमा निकै ठूलो उतारचढावको सामना गरेको उल्लेख गर्नुभयो ।

२०१८ सालदेखि ‘रचना’ पत्रिकामार्फत साहित्यिक पत्रकारिता सुरु गरेको भन्दै उहाँले सेवा भावनाले साहित्यिक पत्रिका निकाल्ने गरेको र अहिलेसम्म पनि मुस्किल भएको भन्दै प्रेस काउन्सिल नेपाललाईनीतिगतरुपमा साहित्यिक पत्रिकालाई केही सहज बनाएर आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । संघका अध्यक्ष राधेश्याम लेकालीले लामो समयदेखि नेपाली भाषा, सस्कृतिका क्षेत्रमा काम गर्दै आएको भन्दै साहित्यिक पत्रकारिताको कसरी संरक्षण गर्ने भन्ने चिन्ता रहेको उल्लेख गर्नुभयो । उहाँले अनुगमन गर्ने निकायमा एकद्वार चाहिन्छ भन्दै अनुदानको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

सहित्यकार प्रमोद प्रधानले छापामाध्ययममा रहेको साहित्यिक पत्रकारिता डिजिटलमा पुगेको स्मरण गराउनुभयो । ‘यो विचमा समय अनुसार कति परिमार्जन गर्न सफल भयौं भन्नेमा पनि समिक्षा गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म पनि व्यवसायिक किन बन्न सकेन ? यो विषयमा रहर कि साधना भन्ने विषयमा पनि प्रष्ट हुनुपर्छ ।’ उहाँले साहित्यिक पत्रकारितामा रहर होइन साधना आवश्यक छ भन्दै पठन संस्कृतिको विकासका लागि पनि यसलाई व्यसायिक बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । ‘सित्तैमा पुस्तक र पत्रिका बाँड्ने कुराबाट माथि उठ्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘शुद्धीकरणमा पनि ध्यान दिनुपर्छ ।’

साहित्यकार श्रीओम श्रेष्ठ रोधनले साहित्यिक पत्रकारिता अन्यायमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘साहित्यिक व्यक्तिहरु प्रधानमन्त्री र मन्त्री बने तर साहित्यिक पत्रकारितालाई बलियो बनाउने कुरामा कसैको ध्यान गएन,’ उहाँले भन्नुभयो । २०५१ सालमा साहित्यिक पत्रकारिता कोष स्थापना भएको भन्दै साहित्यिक पत्रकारिता बलियो नबन्नुमा त्यहाँ भित्रको विकृति पनि एक भएको उल्लेख गर्नुभयो ।

‘यहाँ साहित्यिक पत्रकारिताका साधक र ऋषि पनि हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘केही पत्रकार छन् जो रचना छापेर पैसा माग्छन् । यस्तो विषयमा हामी लेखक पनि जिम्मेवार हुनुपर्छ ।’ उहाँले १० हजार बढी लेखक भए पनि एक हजार हाराहारीमा मात्रै साहित्यिक पत्रिका विक्नु आश्चर्य भएको उल्लेख गर्नुभयो । ‘हामी लेखक भयौं तर पाठक बन्न सकेनौं,’ उहाँले भन्नुभयो ।

शारदा पत्रिकाका सम्पादक विमल भौकाजीले पनि मोतिराम भट्टका बेलामा पाँच सय पत्रिका छापिन्थ्यो भन्दै अहिले पनि बढीमा हजार छापिनु अनौठो भएको उल्लेख गर्नुभयो । ‘कवि धेरै भए पाठक कम भए,’ उहाँले भन्नुभयो, ‘शारदा पत्रिका १० वर्षदेखि चलाउछु । खल्तिका नोटले पत्रिका छापेर कवाडीको मुल्यमा बेच्नु परेको छ । यो अधोगतिलाई उकास्नुपर्ने जरुरी छ ।’

कान्छा हिमाल आरोही तेम्वाछिरि शेर्पाले हिमाल जोगाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । संघका पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठले ५१ वर्षको इतिहास बोकेको संघलाई अझै बलियो बनाएर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।