१५ वडामा १५ वटै नमूना उद्यम कार्यक्रम, स्थानीय उत्पादन प्रवर्धनमा हाम्रो ध्यानः उपप्रमुख डंगोल

काठमाडौं, ३० चैत । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो चुनावी घोषणापत्रमा दीर्घकालिन योजनाहरुमा रोजगारीका अवसर सृजना गर्न युवाहलाई लक्षित गरी विभिन्न किसिमका प्राविधिक तथा व्यवसायिक तालिम सञ्चालन गर्ने, उद्यमशील विकास गर्न प्रोत्सान गर्ने, काठमाडौं भित्र विभिन्न व्यवसायिक गतिविधिहरु सिर्जना गरी रोजगारीको अवसर सिर्जना गर्ने, युवाहरुमा भएको ‘ब्रेनड्रेन’ रोक्न विभिन्न खाले अवसरहरु सिर्जना गरी व्यवहारमा लागु गर्ने जस्ता योजनाहरु अघि सार्नु भएको थियो ।

उपमेयरमा निर्वाचित भएपछि डंगोल अहिले आफ्ना चुनावी घोषणापत्रहरुमा गरेका बाचा अनुसारका काम गर्न योजनासहित अघि बढ्दै आउनु भएको छ । काठमाडौं महानगरपालिकाले डंगोलले चुनावी घोषणापत्रमा गरेको बाचा अनुसारकै ‘एक वडा एक उद्यम, आफ्नै सिप आफ्नै मौलिकपन, आत्मनिर्भर उद्यमी बन्न, हाम्रै लगानी हाम्रै श्रम’ नारासहित ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ अहिले अघि बढाएको छ । केही दिन अघि मात्रै काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागले राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरी ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ को औपचारिक सुरुवात गरेको छ ।

कार्यक्रमको औपचारिक सुरुवातपछि उपप्रमुख डंगोलले स्थानीयस्तरबाटै गुणस्तरीय स्वदेशी सामाग्री उत्पादन गरी विस्तारै आयात घटाउने उदेश्यले साना–साना उद्यम विकास कार्यक्रमको थालनी गरेको जानकारी दिनुभयो । ‘अहिले पनि काठमाडौंमा धेरै महिलाहरु दिदीबहिनीहरु दिनभरी त्यत्तिकै बस्नु परेको अवस्था छ,’ डंगोलले भन्नुभयो, ‘यसरी दिनभरी त्यत्तिकै बस्नु भन्दा केही आय–आर्जनका काममा उहाँहरुलाई लगाउन सकियो भने स्थानीयस्तरबाटै गुणस्तरीय सामाग्री उत्पादन गर्न सकिन्छ भनेर यस्ता अभियानको थालनी गरेको हो ।’

पहिलापहिला पनि काठमाडौँ महानगरपालिकाले सीप विकासका तालिम गराउने र आय–आर्जनमा लगाउने प्रयास गर्दै आएको भन्दै डंगोलले यद्यपि, सीप सिकाएर प्रमाणपत्र दिए पनि विषय विज्ञता नहुँदा उनीहरुलाई उद्यमशील बनाउने कुरामा कमजोरी भएको उल्लेख गर्नुभयो ।

‘हामीले अब दिने तालिमचाँहि तालिमका लागि तालिम मात्रै भन्दा पनि विषयविज्ञकै रुपमा अघि बढाउने गरी योजना बनाएका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले आफूले उत्पादन गरेका सामाग्री बजारमा लगेर बेच्नेसम्मको दक्षता अभिवृद्धि गर्ने योजना बनाएका छौँ ।’

उहाँले पहिला–पहिला हरेक वडामा एउटै कार्यक्रम गर्ने चलन भएको स्मरण गर्दै त्यसले विविधता ल्याउन नसकेको उल्लेख गर्नुभयो । ‘हामीले अहिले पहलिो चरणमा हामीले १५ वटा वडामा सुरु गरेका छौँ । हामीले फरक–फरक उत्पादनसँगै भविष्यमा ‘मेड इन काठमाडौं’ कार्यक्रम गर्नेसम्मको तयारी गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘त्यसले काठमाडौं महानगरपालिका भित्र उत्पादन भएका सामाग्रीलाई बजारिकरण गर्नेसम्मको पनि तयारी पनि गरेका छौँ ।’

स्थानीयस्तरमा उत्पादन भएका सामाग्रीलाई बजारसम्म जोड्ने अभियानका साथ यो कार्यक्रम अघि बढाएका पनि उहाँले जानकारी दिनुभयो । ‘हामीले स्थानीय उत्पादनलाई एक स्थानीय तहबाट अर्को स्थानीय तह हुँदै विदेशसम्म पनि बजारिकरणको योजना बनाएका छौँ,’ उहाँले भन्नुभयो, ‘अबका तालिमहरु सिपयुक्त हुने र क्षमता विकास गर्ने गरी अघि बढाउँछौँ । ‘एक वडा, एक नमूना उद्यम कार्यक्रममा जुन वडामा जुन उद्यम छानिएको छ, त्यही उद्यमको तालिम दिएर सिपयुक्त बनाउँछौँ ।’

उहाँले उद्यमी बन्न दृढ इच्छा भएकालाई मात्र तालिम दिने भन्दै तालिम लिएकालाई उद्यमी बनाउने दाबी गर्नुभयो । गुणस्तरीय सामान उत्पादन भएपछि ‘नेपाल उत्पादन मेला’ गर्ने, त्यसभित्र पनि ‘मेड इन काठमाडौँ’ को छुट्टै स्थान बनाउने र वडाका खाली ठाउँहरुमा मेला गरेर स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने योजना बनाएको पनि महानगरपालिकाले जानकारी दिएको छ ।

डंगोलले पहिलो चरणमा वडाहरुले स्थानीय उद्यमीहरुको रुचि, यसअघि भइरहेका अभ्यास, कच्चा पदार्थको उपलब्धताजस्ता आधारमा विभिन्न उत्पादन छानेको बताउनुभयो । यीमध्ये धेरै वडाले मस्यौरा बनाउने, तितौरा बनाउने, अचार बनाउने उद्यम छानेको पनि डंगोलले जानकारी दिनुभयो ।
पहिलो चरणमा छनोट भएका वडा र दिइने तालिम

१) वडा नं. १ – गुन्द्रुक र मस्यौरा
२) वडा नं. २ – मस्यौरा र तितौरा
३) वडा नं. ३ – फेल्टको सामान बनाउने
४) वडा नं. ४ – फेल्टको सामान बनाउने
५) वडा नं. ७ – क्रिष्टल तथा पोतेको गहना बनाउने
६) वडा नं. ८ – दुना टपरी र रुद्राक्षको ढक्की बनाउने
७) वडा नं. ९ – रुद्राक्षको माला धुप बनाउने
८) वडा नं. १० — मस्यौरा र अचार बनाउने
९) वडा नं. १२ – सुकुल बनाउने
१०) वडा नं. १६ – काष्ठकला
११) वडा नं. २१ – कटाँ की मूर्ति कुँद्ने
१२) वडा नं. २२ – जुत्ता बनाउने
१३) वडा नं. २४ – व्याग बनाउने
१४) वडा नं. ३० – गुन्द्रुक मस्यौरा बनाउने
१५) वडा नं. ३२ – अचार बनाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *