राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको उपचारको क्रममा मृत्यु

काठमाडौं, ३ वैशाख । राप्रपाले काठमाडौं लक्षित आन्दोलनमा घाइते भएका एक व्यक्तिकाे उपचारको क्रममा मृत्यु भएको छ ।

आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएकाे हाे ।

डाँगी राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत हुन । डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयाे ।

डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित थिए । प्रहरीले आन्दोलनकारीलाई पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसले उनको स्वास्थ्यमा झन् बढी समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।

गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले चैत २७ गते प्रदर्शन गरेको थियो ।

उनको शवलाई श्रद्धाञ्जलीका लागि आज १२ राप्रपा कार्यालयमा राखिने भएको छ ।