जनबहाः द्यःको रथ लगन पुग्याे, आज विधिपूर्वक रथ तानेर सम्पन्न गरिंदै

काठमाडौं, ७ वैशाख । वर्षा र सहकालका देवता मानिने (आर्यअवलाेकितेश्वर ) जनबहाःद्यःको रथलाई वसन्तपुर दरवार स्क्वायरबाट तानेर लगन टाेलमा पुर्‍याइएको छ ।

हिजाे जात्राकाे तेस्रो दिन हनुमानढोकाबाट रथ तानेर लगन टोलमा पुर्याइएकाे हाे । उक्त रथ मंगलबार तीनधारा पाठशालाबाट सुरु भएर जमलबाट असन पुर्‍याइएको थियो । भने बुधबार उक्त रथ तानेर हनुमानढोका दरबारमा रहेको कालभैरवको अगाडि पुर्याइएकाे थियाे ।

आज जनबहाः द्य:काे रथले लगनटोलको मध्यभागमा रहेको ठूलो रुख अर्थात् मां सिमा (करुणामयको आमा) को तीनपल्ट परिक्रमा गराइएपछि रथ तान्ने काम सम्पन्न हुनेछ ।

भाेलि साइत हेरेर जनवहाद्य:लाई बेलुकी खतमा राखेर लगनबाट जनबहालमा फर्काईन्छ ।

जनबहालमा पुगेपछि गुरुज्यू तथा पुजारीहरुले विधिपूर्वक पूजा गरी जनबहाःद्यःलाई स्वागत गरी भित्र्याइन्छ । अन्तमा देवतालाई प्रतिस्थापन गरीसकेपछि जनबहाःद्यःको जात्रा विधिवत रुपमा समाप्त हुन्छ ।

वर्षा र सहकालका देवता मानिने जनबहाःद्यःको दर्शन गरे सुख, सुस्वास्थ, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास छ।