कमलादी गणेशमा अष्टविनायक जात्रा

काठमाडौं, ११ वैशाख । आज चैत्र पूर्णिमाका दिन उपत्यकाका विभिन्न स्थानमा विभिन्न देवीदेवताका जात्रा चलाइरहेको छ । यसैक्रममा काठमाडौंको कमलादी गणेशको जात्रा पनि आज सम्पन्न हुँदैछ ।
कमलादी गणेशमा आजको दिन आठ वटा गणेशको मूर्ति राखिएको हुन्छ । त्यसैले आज कमलादीमा अष्टविनायकको दर्शन गर्न पाइन्छ ।
यी आठ गणेशका मूर्तिहरू मध्ये चार वटा मूर्ति वटु निवासी ज्यापू समुदायले ल्याउँछन् भने तीन वटा मूर्ति जमल निवासी ज्यापू समुदायले ल्याउँछन् । एउटा मूर्ति कमलादी गणेशमै रहेको हुन्छ । यसरी आज कमलादीमा आठ वटा गणेशको मूर्ति राखी पूजाआजा चलाइन्छ ।
आजै साँझ जमलवासी र वटुवासी ज्यापू समुदायले राखेका आआफ्ना गणेशका मूर्तिहरू लिएर जाने गरिन्छ । ती मूर्तिहरू छुट्टाछुट्टै खटमा राखे फर्काउने चलन छ ।
त्यसपछि जमलका ज्यापू समुदायले गणेशका मूर्तिहरू भएको खटलाई नगर परिक्रमा गराई जात्रा चलाइन्छ । यो जमल टोलको विशिष्ट जात्रा नै हो ।
वटु टोलले भने त्यसरी जात्रा गर्दैन । वटु टोलको जात्रा गत घोडेजात्रा ताका नै सम्पन्न भइसकेको छ । वटु टोलको जात्रा चलाउन काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको पहलमा यस वर्ष रु आठ लाख रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।
वटु टोलको खट पनि दुई वर्ष अघि बागमती प्रदेशका तत्कालीन सांसद माननीय डा. अजय क्रान्ति शाक्यले आफ्नो सांसद विकास कोषबाट निर्माण गरिदिनुभएको थियो ।