काठमाडौंका डबलीमा श्रीमती हराएको मान्छे प्रदर्शन, सुनिताको ‘रिभाइभ दवू प्याँख’ अभियान सार्थक बन्दै

काठमाडौं, १३ जेठ । मल्लकालीन समयमा उपत्यकाका डबलीहरुमा दवू प्याँख भनेर नाटक, प्रहसन गर्ने चलन थियो । त्यस्ता डबलीहरुमा सांस्कृतिक र साहित्यिक कार्यक्रमहरु पनि बाक्लै हुने गर्थे । काठमाडौं उपत्यका र अझ त्यसमा पनि काठमाडौं त सांस्कृतिक पहिचान बोकेको सहर समेत भएकाले यस्को विशिष्ट महत्व रहँदै आएको छ । यहाँका डबलीहरुको पनि विशिष्ट महत्व रहँदै आएको छ ।

करीब ३५ वर्ष अघिसम्म पनि काठमाडौंका डबलीहरुमा नाटक, प्रहसन, सांस्कृतिक कार्यक्रम, साहित्यिक कार्यक्रमहरु व्यापकरुपमा प्रदर्शन गर्ने चलन थियो ।
जनकवि दुर्गालाल श्रेष्ठ, चर्चित कलाकार मदनकृष्ण श्रेष्ठहरु पनि दवू प्याँखबाटै माथि उठेका कवि, कलाकारहरु हुन् । पछिल्लो समय भने प्रविधि र अन्य विकाससँगै यस्ता सांस्कृतिक महत्व वोकेको नाटक, प्रहसनहरु विस्तारै लोप हुँदै गएका छन् ।

यहि कुरालाई आत्मसाथ गर्दै काठमाडौं महानगरपालिकाको उपप्रमुखको उम्मेदवार सुनिता डंगोलले त्यतिबेला आफ्नो चुनावी घोषणापत्रमै कला, संस्कृति र सम्पदाको ‘रिभाइभ’ अर्थात पुनरुत्थान गर्ने योजना अघि सार्दै ‘रिभाइभ दवू प्याँख’ समावेश गर्नुभएको थियो ।

अहिले डंगोल काठमाडौंको उपप्रमुख हुनुहुन्छ । उहाँले आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरे अनुसार नै काठमाडौंका विभिन्न डबलीहरुमा दवू प्याँख भनेर नाटक, प्रहसन, सांस्कृतिक र साहित्यिक कार्यक्रमहरु प्रर्दशनको सुरुवात भएको छ ।

काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल मण्डल ट्रष्टले लगनटोल र जनबहाः स्थित केलटोलमा कलाः तंम्ह मनू अर्थात श्रीमती हराएको मान्छे शीर्षकको प्रहसन गरेको छ । सांस्कृतिक कार्यक्रमसहितको त्यो प्रदर्शनमा स्थानीयहरुको निकै बाक्लो भीड लागेको थियो ।

कलाकारहरु रवि डंगोल, अन्नपुर्णेश्वरी श्रेष्ठ, कृष्णभक्त महर्जन, लक्ष्मिकुमार महर्जन र शिव महर्जनको अभिनय रहेको उक्त प्रहसन लगनटोल र जनबहाः स्थित केल टोलमा देखाउँदै गर्दा डंगोलले भने जस्तै कला, संस्कृति र सम्पदाको ‘रिभाइभ’ अर्थात पुनरुत्थानको झल्को त्यहाँ पाइन्थ्यो ।

स्थानीयहरुले पनि उपमेयर डंगोलको अगुवाइमा कला, संस्कृति र सम्पदा पुनरुत्थान अभियानको सुरुवाती भएको भन्दै उहाँको खुलेर प्रशंसा गरेका थिए । उनीहरुले यस्ता कार्यक्रम काठमाडौंका डबलीहरुमा नियमित गर्ने अभियान महानगरपालिकाले चलाउने हो भने पुनरुत्थान अभियानलाई अझै सार्थक बनाउन सकिने उल्लेख गरेका थिए ।

विजय मानन्धरले लेख्नु भएको उक्त प्रहसनसँगै कार्यक्रममा सरस्वती महर्जन, रत्न सम्भव शाक्यलगायतले सांगितिक प्रस्तुति दिनुभएको थियो ।