प्रतिपक्षको अवरोध छल्दै अर्थमन्त्री पुनद्वारा आर्थिक सर्वेक्षण प्रस्तुत

काठमाडौं, १३ जेठ । प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच अर्थमन्त्री वर्षामान पुनले आव २०८०/८१ को आर्थिक सर्भेक्षण संसदमा पेश गर्नुभएकाे छ ।

नेपाली कांग्रेसको विरोधका बीच सरकारले चालु आर्थिक वर्ष (आव) को अर्थतन्त्रको अवस्था समेटिएको दस्तावेज संसदमा प्रस्तुत गरेको हो ।

आजको कार्यसूचीमा हेरफेर गर्दै सभामुख देवराज घिमिरेले अर्थमन्त्रीलाई समय दिनुभएकाे थियाे । अर्थमन्त्रीलाई समय दिनासाथ नेपाली कांग्रेसका सांसदहरू रोष्टमतिर कुदे । अर्थमन्त्री रोष्टममा उक्लिन लाग्नुभएकाे बेला दुई पक्षबीच सामान्य धकेलाधकेल भएको थियो । तर, अर्थमन्त्री अवरोध छल्दै रोष्टममा पुग्नुभएकाे थियाे ।

अर्थमन्त्री पुनले प्रस्तुत गर्नुभएकाे सर्भेक्षणमा गत आवको पूरा अवधि र चालु आवको ८ महिनासम्मको संघ प्रदेश र स्थानीय तहको क्षेत्रगत विकास र सुशासनको अवस्था विश्लेषण गर्नुभएकाे छ ।

उहाँले चालु आवमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको बताउँदै
प्रतिव्यक्ति आय १४५६ डलर पुग्ने बताउनुभयाे । फागुनसम्म मुद्रास्फीति ६.०८ प्रतिशत रहेको उहाँको भनाइ छ ।