माइतिघरबाट अघि बढेका सहकारी पीडितका पाइला (१५ तस्बिर)
काठमाडौं, १४ जेठ । काठमाडौंको माइतिघरमा ‘गृहमन्त्री रवि लामिछानेज्यु पीडित महिलाका लागि राज्य संवेदनशील हुन्छ भन्नुभएको थियो । तर, म बलात्कृत पीडित विगत लामो समयदेखि सडकमा अनशनरत अहिलेसम्म तपाईँले देख्नु भएन ?’ भनेर लेखिएको व्यानर १३३ दिनदेखि झुण्डिरहेको थियो ।
अनि त्यसैको आडमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै भन्दै सुरु गरेको अनिश्चितकालिन धर्ना तथा रिले अनशनका लागि मुलुकभरीबाट उपस्थित भएका सहकारी पीडितहरु प्रचण्ड धूपको समेत प्रवाह नगरी झण्डा र व्यानरसहित सिंहदरबारलाई व्यँझाउने गरी नारा लगाइहरेका थिए ।
जेठको प्रचण्ड गर्मीमा माइतिघर मण्डलाको बिच भागमा अग्लो स्तम्भमा सूर्यचन्द्र अंकित राष्ट्रिय झण्डा फहराइरहेको थियो भने त्यहाँ नजिकै दजर्नौ प्रहरीले पहरा दिइरहेका थिए अनि सहकारी पीडितचाँहि न्याय पाउने आशामा गगनभेदी नारासहित गृहमन्त्री रवि लामिछाने र सरकारलाई खवरदारी गरिरहेका थिए । माइतिघर मण्डलामा गृहमन्त्री लामिछाने जोडिएको सहकारीका पीडितहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।
अहिले गृमन्त्री लामिछाने आफू सहकारी ठगी काण्डमा चोखो रहेको भनेर चर्को स्वरमा प्रतिकार गर्दै हिड्नु भएको छ । यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने छानविन समितिको माग गर्दै धेरै दिनदेखि संसद अवरुद्ध गर्दै आएको छ ।
छानविन समिति बनाउने कि नबनाउने भन्ने रस्साकस्सी निरन्तर चलेपछि अहिले संसद समेत राम्ररी सूचारु हुन सकिरहेको छैन । बजेट भाषण जेठ १५ मा अनिवार्य गर्नुपर्ने छ । तर, अहिलेको लफडा हेर्दा सहजरुपमा बजेट भाषण हुने संभावना कम देखिन्छ । सहकारी पीडित नै अहिले यसरी आन्दोलनमा उत्रिएपछि गृहमन्त्री लामिछानेलाई थप नैतिक संकट देखिएको छ ।